सुमन कतै गएर घर फर्कँदै थियो। ऊ थाहा पाइरहेको छ, उसलाई कसैले पछ्याइरहेको छ।
घरै भनौं, किरायमा लिएको सानो-सानो दुइवटा कोठा। गान्तोकमा यति पाउन पनि गाह्रो छ आजभोलि। पैसा-रुपियाँ भएर के गर्नु! ‘‘जति भएपनि दिन्छु’’ भन्दासम्म भनेजस्तो घर पाइँदैन। जो-सुकैको निम्ति त यहाँ बाँच्न पनि सजिलो छैन।
म कुरा गर्दै थिएँ सुमन कतै गएर घर फर्किँदैगरेको।
दिनभरिको थकान् मेटिएपछि सुमन दिलिपलाई भेट्न गएको थियो। धेरै भएको थियो भेट नभएको। सँगै पढ़ेको दिलिप उच्चमाध्यमिकको पढाई सक्न नपाई इण्डियन रिजर्भ बटालिएनमा भर्ती पाएर गएको। अहिले गाउँमा सानोतिनो घर बनाए पनि विवाह गरेपछि ऊ पनि शहरतिरै बस्न थालेको छ। डिउटी शहरमै छ।
आजभोलि पहाड़तिर पनि मधेसजस्तै रात र दिन त्यत्ति छुट्टिँदैन, विशेष शहरमा। बार, डिस्को र पार्टी अरे, फेरि निजी कम्पनी, होटल, बार-रेस्टुरेण्टतिर कामगर्ने अनि अरू के के, के केSSS। तर सड़क सुनसान् छ।
रातको यतिबेला एघार बजेको हुनुपर्छ।
तादोङ डाँड़ागाउँ बस्छ ऊ। अहिले आम्दो गोलाईतिरबाट सड़क छेउ-छेउको ‘फुटपाथै-फुटपाथ’ हुँदै एक्लै हिँड़िरहेको छ ऊ। सिलगढी, दार्जीलिङ र अरू कता-कता गएर फर्किने होलान् घरिघरि एक-दुई वाहनहरू गुड़ीरहेका छन् सडकमा। नभए, सडक प्रायः सुनसानै छ। ‘स्ट्रिट लाइट’ बलिरहेका छन् झलल। त्यसैको सहारामा ऊ अर्था सुमन हिँड़िरहेको छ।
कृषिभवन आइपुग्दा कता-कता सुमनलाई कसैले पछ्याइरहेको जस्तो लाग्यो। फर्केर हेरिहाल्न पनि ठीक लागेन उसलाई। बरु अलि छिटो-छिटो हिड्न उचित ठानेर पाइला सामान्यभन्दा लामो गर्न थाल्यो।
आजभोलि राति एक्लै हिड्न ठिक छैन समय। भर्खरै दार्जीलिङमा एक युवकको हत्या गरेर फ्याँकिएको शव फेला परेको समाचार-पत्रहरूमा छापिएको थियो। उतैतिर फेरि अर्कै एउटी महिलालाई पनि मारेर घर पछाड़िको चेपमा लुकाइराखेको पनि समाचारमा प्रकाशित भएको थियो। नारी मोर्चा र अरू को-कोहरूले हो कड़ा विरोध जनाउँदै न्यायको माँग पनि गरेको सुनिएको थियो। थाहा छैन न्याय पायो कि पाएन। न्याय पाए पनि त के गर्नु मरेकालाई जीवित त पार्न सकिँदैन। अँ, त्यसोभन्दा बाँच्नेहरूका निम्ति भने केही राम्रो होला पनि।
सुमनलाई अझै त्यो मान्छेले पछ्याइरहेथ, अझ छिटो-छिटो आफूलाई पछ्याइरहेको जस्तो लाग्यो।
‘‘कतै यसले मलाई मार्ने विचारले त… !’’ मनमा यस्तै अनेक पाप सोंच्दै ऊ अझ छिटो-छिटो लामो-लामो पाइला चालिरहेको थियो। जोयबेल्स स्कूलछेउ आइपुग्दा फेरि अर्को ‘स्ट्रिट लाइट’-को उज्यालोमा फर्की हेरौं कि सम्झ्यो उसले। उज्यालोमा देख्छ जम्झेर होला, त्यो मान्छे यतिबेला अलिक पछि रह्यो। त्यसैले ‘होस् हेर्दिन।’ सम्झेर चुपचाप अघि बढ़िरह्यो समुन।
त्यो मान्छेले उसलाई पछ्याउन छोड़ेकै थिएन। ‘स्ट्रिट लाइट’-देखि अलिक पर पुगेपछि त्यो मान्छेले उसको पछि गर्न छोडेजस्तो लाग्यो। उसले खुट्टा अलिकति ठोक्किएको जस्तो गरी खुट्टा मुसार्ने निहुमा अलिकति निहुरियो। थाहा नपाउने गरी पछि फर्केर हेर्यो, तर कोही थिएन। उसको मनमा ढुक्का लाग्यो। कुनै आवाज पनि थिएन।
‘‘धत्, यदि कसैले पाप मनले पछ्याउँदै छ भने त हिँडाइको आवाज पनि सुनिन्छ नि।’’ उसले यस्तै के-के सोच्यो। फेरि आङ सिरिङ्ग भयो उसको।
फेरि सोच्यो, सिक्किममा त अहिलेसम्म शान्ति छ। काट-मार, हत्या-हिंसा छैन। होइन होला, विचरा ऊ पनि त मजस्तै कतै गएर आउँदै थियो होला। यस्तै सोचेर आफ्नै मनलाई शान्तवना दियो सुमनले। होइन, आखिर मान्छेनै हो। दिनदिनै महँगाइले आकाश छोएको बेला मनमा पापको विजारोपण हुन कति बेर लाग्छ र। दश-पन्द्रह वर्ष पहिला पर सिच्छेतिर कता हो रानीखोला छेउमा जाबो पाँचसयको निम्ति हत्या गरेको भने पापाले सुनाउनु हुन्थ्यो। के बेर हुन हो त्यो मान्छेले मेरै पछि गरेको हुनुपर्छ। मैले शङ्का गर्छ भनेर पो मदेखि अलिक टाड़ा भएको थियो होला, फेरि हेर्छु…।
यस्तै सोच्दा-सोच्दै त्यो मान्छे आफ्नो नजीक आइपुगेको उसले थाहा पायो। खाङ्ग्री पेट्रोल पम्पदेखि पाँच-दश कदम मात्रै अघि बढ़ेको थियो सुमन, फेरि त्यो मान्छे हरायो। यहाँको बत्तिमा ऊ निर्धक्क फर्केर हेर्छु सम्झेर पछि फर्कियो। तर कोही थिएन।
ऊ छिटो-छिटो अघि बढ़िनै रहेको थियो। यतिबेलासम्म त उसको निधारमा छिट-छिट् पसिना पनि आउन थालेको थियो। कन्भे ग्राउण्ड नाघ्नै लाग्दा फेरि फर्केर हेर्न लागेको थियो फेरि त्यो मान्छे त आइपुगेछ।
इण्डस व्याङकअघि आइपुग्दा उसको स्वास बढ़ेर स्वाँSSS स्वाँSSS भइसकेको थियो सुमन। फेरि फर्केर हेर्न लागेको थियो। त्यो मान्छे ऊसँगै भएजस्तो लागेर एकपल्ट सातो गएजस्तो लाग्यो उसलाई।
‘‘लाSSS! अब चाहिँ सकिएछु’’ सम्झियो उसले। तर अचम्म त्यो मान्छे कता हरायो हरायो।
ऊ त्यहीँ ठिङ्ग उभिएर फेरि सोच्यो- ‘‘कतै मलाई तर्साइरहेको तथिएन?’’
‘‘होइन होइन, तर्साएको होइन। तर, कस्ले पछ्याइरहेको थियो त मलाई?’’ मनमा यस्तै कुरा खेल्दा-ख्लेदै आफूसितै भएको छाँयामा उसको आँखा पर्यो अनि ऊ दुइपाइला पछि सर्यो। उसको छाँया पनि सँगै सर्यो। त्यसपछि भने सुमनलाई मनमनै हाँस उठ्यो तर हाँस्न सकेन।
‘‘धत्! म त छाँयासित पो डराइराथेँ छु।’’ मनमनै भन्यो अनि सोच्यो, ‘’छि’, मान्छेको यो मन पनि कस्तो। सित्थैमा त्यत्रो परदेखि आफैसित भागिरहेको थिएछु।’’
*








मन कथालाई स्थान दिएवापद सुनगाभा पोस्ट टिमलाई धन्यवाद।