गान्तोक, ११ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङको चिया गफ पहिचान पुरस्कार कोषद्वारा पुरस्कारका लागि चयन गरिएका उत्कृष्ट ८ पुस्तकहरूको सूचीमा परेको छ। २०१५ मा स्थापित नेपालको पहिचान पुरस्कार कोषले २०२३-२४ मा प्रकाशित उत्कृष्ट ८ नेपाली पुस्तकहरूको सूची सार्वजनिक गरेको छ जसमा प्रवीण खालिङको पुस्तकलाई पाँचौं स्थानमा राखिएको छ।
पहिचान पुरस्कार कोषले जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, “१० सेप्टेम्बर २०२४ को दिन बसेको पहिचान पुरस्कार कोषको बैठकले वि.सं २०८०/८१ तथा सन् २०२३/२०२४ मा प्रकाशित भई कोषमा दर्ता भएका भएका पुस्तकहरूको माध्यमबाट उत्कृष्ट ८ पुस्तकहरूको छनौट गरिएको छ।”
कोषद्वारा छनौट भएका उत्कृष्ट ८ पुस्तकमा गीलु रातोसको ‘सिलीदुइ’, विश्व कुइकेलको ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’, राजु स्याङ्तानको ‘ओ पेमदोर्जे’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग रायामाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ नामक पुस्तक सामेल छन्।





