गान्तोक, ७ नोभेम्बर: सिक्किमका दुईजना युवतीको सुरतको एउटा स्पामा आगलागी हुँदा मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार बुधबार साँझ सुरतको अमृत्य स्पा र सैलून सेन्टरमा आगलागी हुँदा सिक्किमकी ३० वर्षीय बेनु हुङ्मा लिम्बू र। २४ वर्षीय मनिषाको मृत्यु भएको छ । सुरतको सिटी लाइट रोडस्थित फर्च्युन कम्प्लेक्सको तेस्रो तल्लामा रहेको स्पामा आगलागी भएको थियो । फायर फाइटरहरूले दुई पीडितहरूलाई स्पाको बाथरूममा मृत अवस्थामा भेटाए । तिनीहरूको मृत्यु निसास्सिएको कारणले भएको जानकारी पाइएको छ ।
जानकारीअनुसार स्पाको कस्मेटिक सामानहरू राखिएको अगाडिको कोठाबाट आगो शुरु भएर भवनको दोस्रो र तेस्रो तल्लासम्म फैलिएको थियो।
स्पाको एकल एन्ट्री र एक्जिट पोइन्ट मात्र भएको र झ्यालहरू पनि बन्द रहेको कारण भित्री कोठामा फँसेका महिलाहरू भाग्न नसकेका बताइएको छ । स्पाका तीन जना स्टाफहरु भाग्न सफल भए र अधिकारीहरूलाई घटनाबारे सुचित गरेका थिए तर दुई महिलाहरुलाई उद्धार गर्न सकिएन ।
दिलशाद खानको स्वामित्वमा रहेको उक्त स्पामा आगलागीको वास्तविक कारण पत्ता लगाउन स्थानिय पुलिसले अनुसन्धान गरिरहेको छ।





