गान्तोक, ३१ अगस्त: साहित्यकार तथा राजनीतिज्ञ दिव्य विक्रम नेम्बाङको स्मृतिमा स्थापित दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जीलिङको सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई प्रदान गरिएको छ। ३० अगस्त शुक्रवार बिर्तामोडमा नेपाल भारतका कवि साहित्यकारहरूको बृहत् उपस्थितिमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो । नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षता एवं प्रसिद्ध आख्यानकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा पुनियानीलाई नगद रु ३०,००० सहित टोपी, मफलर र सम्मानपत्रले पुरस्कृत गरिएको थियो।
कवि सुन्दर कुरुपले दिव्य विक्रम नेम्बाङ एक लोकतान्त्रिक योद्धा र समर्पित साहित्यकार भएको बताए। दिव्य विक्रम नेम्बाङमाथि बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले नेम्बाङ शिक्षासेवी पनि भएको बताए। दार्जीलिङमा शिक्षाग्रहण गरेका नेम्बाङ नै तेस्रो आयाम आन्दोलनको मुखपत्र ‘फूल-पात-पत्कर’-का प्रकाशक समेत रहेका थिए।
पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक डा. अस्मिता बिष्टले राजा पछिल्लो समयका प्रतिरोधी कवि साहित्यकार भएको बताइन्, जसले हस्तक्षेप लेखन आन्दोलनको नेतृत्व गरका हुन्। राजाको नेपाली भाषा-साहित्यको क्षेत्रमा उल्लेख्य योगदान रहेको उनको जिकिर थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्य विक्रम नेम्बाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने बताए।
नेपालबाट आफूले स्थापित पुरस्कार पाउँदा पुरस्कृत व्यक्तित्व राजा पुनियानीले आफ्नो सम्बोधनमा भने, “पुरस्कार अनपेक्षित ढङ्गमा प्राप्त भयो। पुरस्कारले मातिने डर हुन्छ। म संयम राख्दै प्रतिबद्ध रही नेपाली साहित्यको सेवा गरिरहन सकुँ।” उनले “कला-साहित्यको कुनै राजनैतिक सीमा नहुने” विश्वास व्यक्त गर्दै “पुरस्कारले आफ्नो सृजनात्मक दायित्वबोध अझ बढ़ेर गएको” विचार व्यक्त गरेका थिए। पुनियानीका ‘अर्को लश्कर’ र ‘तङसिङ’ कृति प्रकाशित छन्।
भारतबाट नरेश के. शाहीले आफ्नो शुभकामना मनत्व्य राखेका थिए। विवश बलिभद्र कोइरालाले सञ्चालन गरेको समारोहमा भारतबाट कवि सुरज गुरुङ, गहेन्द्र प्रियदर्शी प्रधानको विशेष उपस्थिति रहेको थियो। नेपालबाट कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, अग्रज स्रष्टा विष्णुकुमार भट्टराई, हरिनारायण भट्टराई, डी.एल. प्रधान (मिरिक), चन्द्र गुरुङ, प्रदीप मेन्याङ्बो, लीला अनमोल, सुनिता तामाङ, अभागी थेगुवा, चित्रा पौडेल, विराट् किराँती, सेलिङ के.सी., राजकुमार सुब्बा, हिम्मत नेम्बाङ, वन्दना नेम्बाङ, तिलकुमार नेम्बाङ, समीर बाबु कट्टेल, मेची पुत्र लगायतको बाक्लो उपस्थिति रहेको बताइएको छ।





