सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका यी स्थलहरूमा दैनिक 25 वटा सवारी साधन र 10–15 मोटरसाइकल मात्र प्रवेश गर्न पाउने व्यवस्था हुनेछ।
पर्यटकले रणभूमि दर्शन एपमार्फत विशेष अनुमति पत्रसँगै इनर लाइन परमिट लिनुपर्नेछ। भारतीय सेनाको सहयोगमा विश्रामस्थल, पार्किङ, स्वास्थ्य सुविधा र शौचालय जस्ता पूर्वाधार विकास भइरहेको बताइएको छ।
सिक्किम सरकारका पर्यटन मन्त्री छिरिङ थेन्डुप भुटियाले डोकलाम र छो ला पासलाई रणभूमि पर्यटन गन्तव्यमा समावेश गरिएकोमा स्वागत गर्दै यसले सिक्किमको पर्यटन क्षेत्रमा नयाँ मूल्यवृद्धि ल्याउने बताएका छन्।




