गान्तोकः पूर्व सिक्किमको सिङ्ताम नगर पञ्चायतका मानिसहरूलाई समर्पित गर्दै निर्माण गरिएको ‘निर्वाणा पार्क’ को सोमबार बिहान सिक्किम सरकारका मन्त्री एनबी दाहालले औपचारिक उद्घाटन गरे। यो पार्क नगर पञ्चायतका अध्यक्ष सुरेश तामाङको पहलमा सिङ्ताम नगर पञ्चायतले निर्माण गरेको हो।
2023 मा टिस्टा नदीमा आएको विनाशकारी बाढले सिङ्ताम र आदर्श गाँउलाई जोड्ने ईन्द्रेणी पुल बगाएपछि उराठलाग्दो बनेको स्थानलाई सुन्दरीकरण गर्दै पार्क निर्माण गरिएको हो। पार्क निर्माणको उद्देश्य जनमानसमा परेको बाढीको मानसिक त्रास हटाउँदै एउटा सुरक्षित, स्वच्छ र सार्वजनिक विश्रामस्थल उपलब्ध गराउनु रहेको छ।
सिङ्ताम बजारको यो पार्क निर्माण गरिएको स्थान अहिलेसम्म गोस्खान डाँडा नामले प्रचलित छ। तथापि बजार भित्रै पर्ने यो स्थानको नाम सुहाउँदो नभएका कारण पार्क निर्माणसँगै स्थानको पनि नाम परिवर्तन गरेर निर्वाणा पार्क नै राख्ने पहल भइरहेको नगर पञ्चायतका अध्यक्ष सुरेश तामाङले जानकारी दिएका छन्। यसका लागि नगर पञ्चायतको बोर्ड मिटिङमा छलफल भएर सहमति भइसकेको र अब नाम परिवर्तन गर्न आधिकारिक पहल हुने बताए।
अध्यक्ष तामाङले जानकारी दिएअनुसार पार्क निर्माण गर्ने नगर पञ्चायतको पहललाई समर्थन गर्दै विभिन्न दाताहरूले सहयोग पुऱ्याएका छन्। यो निर्माणका लागि नगर पञ्चायतले आफ्नो आधिकारी बजेट खर्च नगरेको भन्दै उनले सहयोग दिने सबैप्रति आभार व्यक्त गरे। पार्क सार्वजनिक सम्पति रहेका कारण यसको सुरक्षा र प्रवर्धनमा पनि सहयोग गरिदिन उनले नागरिकहरूलाई आग्रह गरेका छन्।




