गान्तोक : “2024 सोलिड एसकेएम’’-को नारासँगै दोस्रोपल्ट विधानसभामा 32 वटै आसनमा आफ्नो पार्टीका विधायक रहेपछिको पहिलो रोलु दिवस कार्यक्रममा पार्टी अध्यक्ष एवम् राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले सुनौलो, समृद्ध अनि समर्थ सिक्किम अभियानमा के घोषणा गर्नेहुन भन्ने सबैको ध्यान रहे पनि मुख्यमन्त्री बनेपछि पहिलोपल्ट रोलु दिवसमा उनी अनुपस्थित रहे। त्रिपुराको राजधानी अगरतलामा शनिवार नै आयोजित पूर्वोत्तर परिषद्को महत्त्वपूर्ण बैठकमा सहभागिता जनाउनुपर्ने भएका कारण मुख्यमन्त्री 16औँ रोलु दिवसमा उपस्थित हुन सकेनन्। तर पार्टीले यस दिवसलाई भव्यताको साथ पालन गऱ्यो।
16औँ रोलु दिवसमा आफ्नो अनुपस्थिति अनुभव हुन नदिन मुख्यमन्त्री तामाङले एक सन्देशमार्फत् रोलु दिवसको महत्त्वबारे आफ्नो विचार पोखे। पवित्र रोलु माताको आशीर्वाद आफूमाथि सदैव रहेकै कारण सिक्किम अनि सिक्किमेली जनसमुदायको सेवा गर्न पाइरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले आफ्नो सन्देशमार्फत रोलु मातालाई अन्तस्करणबाट धन्यवाद दिए। दोस्रोपल्ट सरकार बनाएपछिको पहिलो रोलु दिवसमा मुख्यमन्त्रीको सहभागिता हुन नसके पनि पार्टीका समर्थक र कार्यकर्ताहरूको उपस्थिति उत्साहपूर्ण रहेको देखियो।
मुख्यमन्त्री तामङको अनुपस्थितिमा प्रथम रोलु दिवस 2009-को समय मुख्यमन्त्री तामाङसँगै उपस्थित रहेका वर्तमान सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले मुख्य अतिथिको भार सह्माले। यस भार ग्रहण गर्दै भावविभोर बनेका सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले 2009 -मा पालन गरेको पहिलो रोलु दिवसको सम्झना गरे अनि गोले खेमाले त्यसपछि सिक्किम अनि सिक्किमेली जनसमुदायको उन्मुक्ति हेतु गरेको संघर्षका कुराहरू साझा गरे।
कार्यक्रममा मन्त्री भोजराज राई, विधायक एनबी प्रधान, पूर्व विधायक सुनिता गजमेर आदिले पनि सम्बोधन गरे।
यसपल्टको रोलु दिवस थप महत्त्व दिँदै पार्टीले रोलु मन्दिरमा दुई दिन पूजा कार्यक्रम आयोजन गरियो। रोलु माताको आशीर्वादकै कारण पार्टीले सिक्किममा जनतालाई दिएका वचनहरू पुरा गर्न सफल भएको एसकेएम पार्टीले विश्वास राख्दै आएको छ। प्रत्येक वर्ष रोलु दिवस मनाउनअघि पार्टीले रोलु मन्दिरमा पूजा गर्ने गर्छ। शनिवार एसकेएम पार्टीले नयाँ वर्षको क्यालेण्डर अनि डायरी पनि अनावरण गऱ्यो।
कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण कुमारी राई विशिष्ट अतिथिको रूपमा उपस्थित थिइन् भने पार्टीका वरिष्ठ पदाधिकारीगण, कार्यकर्ता अनि आम मानिसहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
सिक्किमले देखेको २०२४
गान्तोकः फेरि एउटा वर्ष बित्यो अर्को नयाँ वर्षलाई स्वागत गर्दै। नयाँ वर्ष आउनु, क्रमशः पुरानो भएर बित्नु र फेरि अर्को नयाँ वर्ष आउनु मानवद्वारा निर्धारित समय तालिका हुन्। निश्चित समयलाई…