रम्फू: सिक्किम सरकारले आमा सशक्तिकरण योजनाको दायरा थप विस्तार गर्दै आगामी वर्ष अर्थात् २०२७ देखि ५० हजार आमालाई योजनामा समेट्ने घोषणा गरेको छ।
रम्फूको गोली मैदानमा सोमबार आयोजित दोस्रो आमा सम्मान दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले हालको योजनालाई विस्तार गरी राज्यका थप आमालाई आर्थिक सहयोगको दायरामा ल्याइने बताए।
मुख्यमन्त्रीका अनुसार आगामी वर्षदेखि प्रत्येक विधानसभा निर्वाचन क्षेत्रबाट १,५०० भन्दा बढी आमालाई योजनामा समावेश गरिनेछ। हाल आमा सशक्तीकरण योजनाअन्तर्गत ३२ हजार आमालाई सहायता प्रदान गरिँदै आएको छ।
कार्यक्रममा मुख्यमन्त्रीले आमाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरताका लागि सरकारले विभिन्न महिला केन्द्रित योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले बहिनी योजना, आमा सहयोग योजना, वात्सल्य योजना, विधवा पेन्सन सुधार, एक वर्षको प्रसूति बिदा, आमा दिदीबहिनी पिंक बस सेवा लगायतका पहलहरूबारे जानकारी दिए।
दोस्रो आमा सम्मान दिवसका अवसरमा आमा सशक्तीकरण योजनाअन्तर्गत ३२ हजार आमालाई सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। कार्यक्रममा उत्कृष्ट लाभार्थीहरूलाई प्रगतिशील आमा पुरस्कार तथा अन्य विभिन्न सम्मान र पुरस्कारसमेत प्रदान गरियो।
मुख्यमन्त्रीले आमाको सम्मान, सशक्तीकरण र आत्मनिर्भरतालाई राज्य सरकारको प्राथमिकतामा राखिएको बताउँदै आमासम्मानवेबसाइटसमेत शुभारम्भ गरे।




