गान्तोक: राष्ट्रिय शिक्षा नीति २०२० अनुरूप, सिक्किम सरकारको शिक्षा विभागले कम विद्यार्थी भर्नाका कारण केही सरकारी प्राथमिक विद्यालयहरूको सञ्चालन अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। यो निर्णय शैक्षिक सत्र २०२५ देखि लागू हुनेछ।
शिक्षा विभागद्वारा जारी सूचना अनुसार, प्रभावित विद्यालयका विद्यार्थीहरू नजिकका तोकिएका विद्यालयमा स्थानान्तरण गरिनेछ।
पाकिम जिल्ला अन्तर्गत तीनखर्क प्राथमिक विद्यालय लिङ्के माध्यमिक विद्यालयमा गाभिनेछ भने, बौचेन प्राथमिक विद्यालयका विद्यार्थीहरू लिङ्तम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिनेछन्। चन्दने प्राथमिक विद्यालय र चांगेलाखा प्राथमिक विद्यालय दालपछन्द माध्यमिक विद्यालयमा गाभिनेछन्। छुजाछेन लुङचोक प्राथमिक विद्यालय लोकडांडा प्राथमिक विद्यालय वा पोसाके प्राथमिक विद्यालयमा स्थानान्तरण गरिनेछ।
यसैगरी गाङग्याप प्राथमिक विद्यालयलाई पोसाके प्राथमिक विद्यालय वा चुजाछेन वरिष्ठ माध्यमिक विद्यालयमा गाभिनेछ। कटरबोटे प्राथमिक विद्यालय दालपछन्द माध्यमिक विद्यालयमा स्थानान्तरण गरिनेछ भने सामसिङ सुन्तले प्राथमिक विद्यालय डुगा माध्यमिक विद्यालय वा च्युरीबोटे निम्न माध्यमिक विद्यालयमा गाभिनेछ।
सरकारले प्रभावित विद्यार्थीहरूको सहज स्थानान्तरण सुनिश्चित गर्न आवश्यक सबै उपायहरू अपनाउने सिक्किम सरकारका मुख्यसचिव आर तेलाङद्वारा जारी गरिएको अधिसूचनामा उल्लेख गरिएको छ। अधिसूचनामा शिक्षा विभागले यो अस्थायी उपाय मात्र अपनाएको र भविष्यमा विद्यार्थी भर्ना संख्या बढेमा विद्यालयहरू पुनः सञ्चालन गरिने स्पष्ट पारेको छ।





