गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकार गठन भएपछि घोषणा गरिएका तीनवटा नयाँ महकुमा मध्ये गान्तोक जिल्लाको नयाँ महकुमा कार्यालय सोमबारदेखि सञ्चालन आएको छ। गान्तोक जिल्लाको नयाँ महकुमा साङ-राब्दाङको नयाँ महकुमा कार्यालय आज मुख्यमन्त्री पीएस गोलेले उद्घाटन गरेपछि यो सञ्चालनमा आएको हो। नयाँ महकुमा कार्यालय साङ-राब्दाङमा किरायको भवनमा शुरु गरिएको छ। यसको नयाँ भवन निर्माणका लागि सरकारले जमिन तयार पारेको छ भने आगामी बजेट सत्रमा धनराशि राखेर महकुमा कार्यालय निर्माण कार्य आगामी दुई वर्षभित्र पूरा गर्ने मुख्यमन्त्री पीएस गोलेले जानकारी दिएका छन्।
खाम्दोङ-सिङ्ताम निर्वाचन क्षेत्रको साङ-राब्दाङमा महकुमा कार्यालयको उद्घाटन पछि आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले २०१९ मा एसकेएम सरकारको गठनपछि स्थानीय मानिसहरूको दीर्घलम्बित माग पूरा गर्दै सोरेङ र पाकिमलाई २०२१ मा नयाँ जिल्ला बनाएर सुविधा दिने काम गरेको बताए। सरकारले सोरेङ जिल्ला अन्तर्गत मङ्गबारे, नाम्ची जिल्ला अन्तर्गत नाम्थाङ अनि गान्तोक जिल्ला अन्तर्गत साङ-राब्दाङलाई नयाँ महकुमा बनाएको जसमध्ये आजदेखि साङ-राब्दाङ महकुमा सञ्चालन गरिएको र नाम्थाङ र मङ्गलबारेलाई पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिएका छन्।
आजको समारोहमा बोल्दै मुख्यमन्त्री गोलेले एसकेएम सरकार राज्यका नागरिकहरूलाई गुणस्तर स्वास्थ्य सुविधा दिन प्रतिवद्ध रहेको जानकारी दिँदै सिक्किमको स्वास्थ्य सेवालाई राज्य बाहिरका नागरिकहरूले विश्वास गरेर सिक्किममा उपचार गराउन रुची राख्न थालेका बताए। सरकारले राम्रा चिकित्सक र स्वास्थ्य सेवा सिक्किमभित्रै उपलब्ध गराएपनि स्थानीय मानिसहरूले भने यहाँको लाभ उठाउनको साटो बाहिरमात्र रेफर माग्ने गरेका बताउँदै सरकारी सुविधालाई विश्वास गर्न सुझाउ राखेका छन्।
राज्य बाहिर उपचार गराउने मानिसहरूको सुविधालाई सरकारले धेरै ध्यान दिएको बताए साथै सिलगढीमा उपचार गराउने मानिसहरूको सुविधाका लागि सरकारले सिलगढीमा सुस्वास्थ्य भवन निर्माण गरिरहेको बताउँदै यसमा सिक्किमका रोगीलाई निःशूल्क खाने बस्ने सुविधा प्रदान गरिने जानकारी दिएका छन्। राज्यभित्रको स्वास्थ्य सेवा विस्तार गर्न सरकारले सिङ्ताम नजिक टोपाखानीमा ३०० पलङयुक्त अस्पताल निर्माण गरिरहेको जसले एसटीएनएम अस्पताल पछिको वृहत सुविधा दिने लक्ष्य राखिएको बताए।
खाम्दोङ सिङ्ताम निर्वाचन क्षेत्रका जनताको पक्षबाट राखिएका मागबारे बोल्दै मुख्यमन्त्रीले सुमिन-छुकिममा गणेश मन्दिर निर्माण, क्षेत्रमा ग्यालेरीयुक्त खेल मैदान, खाम्दोङमा पुलिस आउटपोस्ट अनि क्षेत्रमा भेटेनेरी कलेज निर्माणका लागि पहल गरिने बताए। लामो समयदेखि थाँतिमा रहेको एनआईटी निर्माण खाम्दोङमा शुरु भएको र यसले स्थानीय मानिसहरूलाई ठूलो फाइदा हुने बताए। उनले खोम्दोङमा घोषणा गरिएको जसलाल प्रधान बक्सिङ एकाडेमिको निर्माण चाँढै शुरु गर्ने निर्देश दिए। तुमिन-लिङ्गी निर्वाचन क्षेत्रका जनताले राखेका विभिन्न माग मध्ये रामधामको निर्माण कार्य सरकारले शुरु गर्ने बताएका छन्।
कार्यक्रमा क्षेत्र विधायक तथा सिक्किम सरकारको सड़क तथा पुल विभागका मन्त्री एनबी दाहालले क्षेत्रमा धेरै विकासका काम भइरहेको बताए। उनले नयाँ महकुमा कार्यालयको लागि सरकारप्रति आभार व्यक्त गरे।