गान्तोक, ६ नोभेम्बरः सिक्किम सरकारले राजधानी गान्तोकमा ट्राफिक जामको समस्यालाई कम गर्न ५ नोभेम्बरदेखि वाहन चलाचलमा अड-इभन फर्मूला लागू गरेको छ। यसका साथै गान्तोक नगर निगम क्षेत्रभित्र पर्ने सबै सरकारी तथा निजी विद्यालयहरूको समय तालिकामा पनि परिवर्तन गरिएको छ।
गान्तोकमा लगातार बढ़िरहेको ट्राफिक जामको समस्यालाई कम गर्न सरकारले फेरि एकपल्ट अड-इभन फर्मूला अप्नाएको हो, जो निजी तथा सरकारी वाहनहरूमा लागू हुनेछ। यसमा ट्याक्सी, लक्जरी टुरिस्ट भेहिकल, आपतकालीन सेवाका वाहन, टु ह्विलर र वरिष्ठ सरकारी अधिकारीका वाहनहरूलाई भने छूट दिइएको छ।
सरकारले अक्टोबर महिनामा नै अधिसूचना जारी गरेर ५ नोभेम्बरदेखि अड-इभन फर्मूला लागू गरिने बताएको थियो, जसको केही असर लागू भएको पहिलो दिन गान्तोकको ट्राफिकमा देखियो पनि।
अड-इभन फर्मूला बिहान ९.३० बजीदेखि दिउँसो १२ बजीसम्म अनि अपरान्ह ३.३० बजीदेखि साँझ ६ बजीसम्म गान्तोक नगर निगम क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग १० अन्तर्गत मेफेयर फाटकदेखि लिएर गान्तोक जीरो पोइन्टसम्म लागू छ। यो नियम सरकारी विदा र आईतवार भने लागू रहने छैन्।
यो निमय लागू गर्दा गान्तोकको ट्राफिकमा केही सुधार देखिएको सिक्किम पुलिस ट्राफिक शाखाका अधिकारीहरूले बताएका छन्। तथापि, तिहारको छुट्टीपछि ४ नोभेम्बर सोमवार मात्र सरकारी कार्यालयहरू खुलेका कारण कतिपय मानिसहरू कार्यालयमा उपस्थित नभएको अनि गान्तोकमा सधैंजस्तो पर्यटकहरूको यस मौसममा घुइँचो नदेखिएकाले मङ्गलवार देखिएको केही पातलो ट्राफिक सधैंका लागि हो अथवा होइन भनी यसै किटान गरिहाल्न भने सकिँदैन।
अर्कोतिर, गान्तोक नगर निगम क्षेत्रका विद्यालयहरूको समय तालिका परिवर्तन भएको कारणले पनि पिक्-आवरमा ट्राफिक केही घटेको हुनसक्ने अनुमान लगाइएको छ। सरकारले नगर निगम क्षेत्रका विद्यालयहरूको समय तालिका बिहान ८ बजीदेखि शुरू गरेर अपरान्ह २.१५ बजीभित्र समाप्त गर्नुपर्ने नियम लागू गरेको छ, तथापि दुइ सिफ्ट-मा चल्ने स्कूलहरू भने पुरानै समय तालिकाभित्र चल्दैछन्।
लामो समयदेखि गान्तोकमा देखिएको ट्राफिक जामको समस्या समाधान गर्न सरकारले विभिन्न पहलहरू गरिरहेको छ। यसैमध्ये मंगलवारदेखि लागू भएको अड-इभन फर्मूलामा वाहन चालक अनि यात्रीहरूले केही सुविधा पाएको देखियो। तर, यो स्थायी समाधान भने नरहेको मानिसहरूले बताएका छन्।