गान्तोक, ४ अक्टोबरः सिटिजन एक्सन पार्टीले सिक्किमका सम्पूर्ण नागरिकहरूसँगै टिष्टा नदीमा भएको विनाशकारी जलप्रलयको संकटमा परेका मानिसहरूको सम्झनामा शोक व्यक्त गरेको छ। पार्टीले एउटा विज्ञप्ति जारी गरेर भनेको छ, “गत वर्ष आजैको दिन हाम्रो राज्यले एक असाधारण विपत्ति भोग्यो, जसले अनगिन्ती निर्दोष जीवनहरू लियो, हजारौँ परिवारलाई पीडामा डुबायो र हाम्रो सुन्दर भूमि जलमग्न र पहिरो ग्रस्त भयो। हामी यस दिनलाई स्मरण गर्दै तिनीहरूको आत्माको शान्तिको कामना गर्दछौं, जसले यो त्रासदीमा आफ्नो ज्यान गुमाए।”
टिस्टा विपत्तिले सिक्किमलाई मात्र होइन, पूरै राष्ट्रलाई एकता र सहानुभूतिको भावनामा बाँधेको सिटिजन एक्सन पार्टीले बताएको छ। पार्टीको प्रचार प्रसार शाखाका महासचिव हेमराज अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “हामी पुनर्निर्माणका कामहरूमा निरन्तर सरकारलाई सकारात्मक परामर्शको निम्ति लागिपरेका छौं। पीडितहरूलाई सहयोग गर्न, उनीहरूको पुनःस्थापना सुनिश्चित गर्न र भविष्यमा यस्ता विपत्तिहरूको सामना गर्न राज्यलाई अझ मजबूत बनाउन हामी प्रतिबद्ध छौं।”
राज्यका सबै नागरिकहरूले सङ्कटको घडीमा देखाएको धैर्य, सहनशीलता, र एकताप्रति पार्टीले आभार व्यक्त गरेको छ। विज्ञप्तिमा अघि भनिएको छ, “हामीले यो विपत्तिबाट महत्त्वपूर्ण पाठ सिकेका छौं र भविष्यका लागि थप तयारी गर्दैछौं, ताकि यस्ता घटनाहरूले पुनः हाम्रो राज्यलाई नझट्काओस्। हामीले पुननिर्माणका निमित्त पानी, बिजुली, सडक, पुल यथास्थिति बनिनुपर्छ भनेर सिक्किमे नागरिकको पक्षमा आवाज उठाइरहेका छौं। आज एकवर्ष बितिसक्दा पनि टिस्टा जलप्रलयबाट प्रभावित परिवार माथि उठ्न सकेका छैनन् जो अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो। सरकारले केन्द्र सरकारद्वारा सयौं करोड क्षतिपूर्ती राशि प्राप्त गरेपनि हालसम्म प्रभावित परिवारलाई यथेष्ट सहयोग गर्न सकेको छैन। राज्य सरकारले यस विषयमा आफ्नो ध्यानाकर्षण गम्भीरतापूर्ण ढंगमा गरोस भनेर हामी सचेत समेत गर्दछौं। अन्त्यमा, हामी सबै सिक्किमवासीलाई यो दिनलाई सम्झना गर्दै एकताका लागि अघि बढ्न आह्वान गर्दछौं।”