गान्तोक, 30 सेप्टेम्बर: बिजुली उपभोग गरेर बिल भुक्तान नगर्ने र यसमा ढिलाइ गर्नेहरूका लागि अब विभागले कडा कारबाहीको पहल गर्ने भएको छ। सिक्किम सरकारको विद्युत विभागका सल्लाहकार सञ्जित खरेलको अध्यक्षतामा आइतबार बसेको एक उच्च स्तरीय बैठकले यस्तो निर्णय लिएको छ।
विशेगरी मन्त्री, विधायक तथा उच्च पदस्थ अधिकारीहरूले समयमा बिल भुक्तान नगरे सिधै बिजुली काटिने निर्णय सभाले लिएको हो। सल्लाहकार खरेलले निजी कारखानाहरूमाथि कड़ा निगरानी राखेर बकाया राशि उठाउन विभागलाई कड़ा निर्देशन दिएका छन्।
यद्यपि, आम जनताद्वारा भुक्तान नगरिएको बकाया राशिका लागि आगामी दसैँसम्म छुट् दिइएको छ। विभागले समयमा राजस्व सङ्कलन सुनिश्चित गर्न, निरन्तर बिजुली आपूर्ति कायम राख्न, ऋण अभिवृद्धिलाई न्यूनीकरण गर्न, उपभोक्ता सुविधा बढाउन तथा विद्युत वितरण कुशलतापूर्वक व्यवस्थित गर्नका लागि यस्तो निर्णय लिएको हो।
विभागको यस पहलले राज्यको विद्युत आपूर्तिमा सुधार ल्याउने र ऊर्जा खपतलाई बढावा दिने बताइएको छ।





