गान्तोक, १८ सेप्टेम्बरः पछिल्लो वर्ष भएको टिस्टा बाढीका कारण सम्पर्क विच्छेद समस्या झेलीरहेको उतातर सिक्किमको सीमासम्मको कनेक्टिभिटी जड़ान भएको छ। सीमा सड़क सङ्गठनले लाचेन नजिक जेमा टिस्टा नदीमाथि पुल निर्माण गरेपछि अब लाचेनबाट चीन सीमासम्मको सड़क सम्पर्क बहाल भएको छ।
३ अक्टोबर २०२३ मा टिस्टाले बगाएको पुल सीम सड़क सङ्गठनले निर्माण गरेको थियो। तर २९ मई २०२४ मा यो पुल फेरि बगाएपछि यसपल्ट भारतीय सेनाको सहयोगमा सीम सड़क सङ्गठन यहाँ पुनः पुल निर्माण गर्न सफल भएको छ। लाचेनदेखि लगभग साढे तीन किलोमिटर दुरीमा पर्ने जेमामा टिस्टा नदीमाथि बेली सस्पेन्सन पुल तयार भएको छ।
जेमामा पुल निर्माणको कार्य सीमा सड़क सङ्गठनको प्रजेक्ट स्वास्तिकले २४ अगस्देखि शुरु गरेको थियो। नदीको दुई कानरमा पिल्लरहरूको निर्माण सहित बेली सप्पेन्सन पुलको जडान एक महिनाभन्दा कम समयमा सकिएको सीमा सड़क सङ्गठनले जानकारी दिएको छ।
जेमा पुल निर्माण भएपछि यसले स्थानीय निवासीसहित भारतीय सेना र अन्य सुरक्षा बललाई सीमा क्षेत्रको आवागमनमा सहज बनाएको छ। यसका साथै गत वर्षको टिस्टा त्रासादीपछि पूर्ण रूपले ठप्प बनेको लाचेन र गुरुदोङमार पर्यटन पनि पुनःबहाल हुने बाटो खुलेको छ।

उल्लेखनीय छ, ३ अक्टोबर २०२३ को राति ल्होनाक हिमताल फुटेपछि टिस्टा नदीमा आएको बाढ़ले विभिन्न स्थानमा पुल बगाएर सड़क सम्पर्क विच्छेद बनेको थियो साथै २०-२५ किलोमिटर सड़क पूर्वाधार पनि नष्ट बनेको थियो। यसले गर्दा चीन सीमासम्म पुग्ने सड़क सम्पर्क लामो समयसम्म बाधित भयो।
सीमा क्षेत्रको सड़क निर्माण काम गरिरहेको सीमा सड़क सङ्गठनले टिस्टा त्रासादीपछि मगन नजिक साङ्कलान, चुङ्थाङ र जेमामा बेली सस्पेन्सन पुल निर्माण गरेको भएपनि साङ्कलान र जेमाको पुल टिस्टाले फेरि बगाएको छ। अहिले जेमा पुल निर्माण भयो तर साङ्कलानमा भएको छैन।
जेमामा नयाँ पुल निर्मान भएपछि अब डिक्चु नजिक फिदाङबाट लोअर जङ्गु पसेर त्यहाँबाट अप्पर जङ्गु, चुङ्थाङ, लाचेन हुँदै गुरुदोङमार लगायत अन्य क्षेत्रमा आवागमन केही सहज भएको छ। यसले लामो समयदेखि ठप्प बनेको पर्यटनका लागि पनि केही आशा जगाएको मान्न सकिन्छ।





