गान्तोक, १५ सेप्टेम्बर: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राज्यमा अत्याधुनिक पूर्वाधार विकासलाई लिएर मुख्य सचिव साथै विभागीय प्रमुखसँग बैठक गरेका छन् । मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा शनिवार भएको बैठकमा मुख्य सचिव विजय भूषण पाठक, गृह विभागका सचिव आर तेलाङ लगायत पर्यटन, भवन तथा आवास विभाग, ग्रामीण विकास विभाग र भू राजस्व विभागका अधिकारी सहभागी थिए ।
बैठकमा चर्चा गरिएका प्रस्तावित परियोजनाहरूमा भारत र तिब्बत स्वायत्त क्षेत्रसँगको अन्तर्राष्ट्रिय सिमाना जोड्ने नाथुला सीमामा पूर्वाधार विकास पनि समावेश छ। नाथुलामा पर्यटन प्रवद्र्धन र एक हजार सवारीसाधन पार्किङ सुविधासहित अन्य पूर्वाधार निर्माण गर्ने सरकारको उद्देश्य रहेको छ ।
सरकारले राज्यको धार्मिक पर्यटकीय क्षेत्र गणेश टकलाई विकास गर्ने योजना बनाएको छ । गणेश टकलाई विश्वको पर्यटकीय केन्द्रमा परिणत गर्न स्थानीय व्यवसायीहरुको सुविधाका लागि आकर्षक स्थल, सामग्री बिक्रेता स्थल, रेष्टुरेन्ट, हल आदि समावेश गरिएको छ ।
मुख्यमन्त्री पीएस गोलेले सिक्किम विधानसभाको बजेट सत्रमा घोषणा गरेको कञ्चनजङ्घा अत्याधुनिक कन्भेन्सन सेन्टर बारे पनि बैठकमा छलफल भएको थियो। यो परियोजना गान्तोक जिल्लाको नाम्लीमा निर्माण हुनेछ। परियोजनामा भिआइपी र अन्य अतिथिका लागि गेस्ट हाउस, अत्याधुनिक सम्मेलन कक्ष, अडिटोरियम आदि हुनेछन्।
यसरी नै राजधानीमा काम गर्ने महिलाको सुविधाका लागि गान्तोक वरिपरि ५०० पलङको महिला होस्टेल निर्माण गरिने भएको छ । महिलाका लागि आवश्यक सबै सुविधा यसमा उपलब्ध हुनेछन् ।
३ र ४ अक्टोबर २०२३ मा दक्षिण ल्होनाक हिमताल फुटेर आएको टिस्टा त्रासदीले घरबार गुमाएका नागरिकका लागि राज्य सरकारको मुख्यमन्त्री पुनर्वास आवास योजनाबारे छलफल भएको छ । यस योजना अन्तर्गत प्रभावित परिवारलाई आवास र पुनर्स्थापनाको व्यवस्था गरिनेछ । मुख्यमन्त्री गोलेले सबै आयोजनामा स्थानीय सांस्कृतिक र परम्परागत तत्वलाई समावेश गर्नुपर्नेमा जोड दिए । यसले राज्यको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नेछ।





