मुम्बई, १३ सेप्टेम्बर: सिक्किमका वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ थेन्डुप भोटियाले मुम्बईमा केन्द्रिय मन्त्री पियुष गोयलको अध्यक्षतामा आयोजित व्यापार बोर्ड बैठकमा भाग लिए । विभागका सचिव कर्मा आर बोन्पोको साथमा मन्त्रीले सिक्किमको प्रतिनिधित्व गर्दै अलैंची, अदुवा, ढल्ले खोर्जसानी र बेसार जस्ता जैविक उत्पादनहरू निर्यात गर्नसक्ने राज्यको विशाल सम्भावनालाई प्रकाश पारे।
बैठक अवसरमा जनसुनवाई पोर्टलको उद्घाटन गरेको थियो जो निर्यातकर्ताहरूको जिज्ञासा र गुनासोहरू सम्बोधन गर्नका लागि भर्चुअल सम्मेलन प्लेटफर्म रहेको छ। केन्द्रिय मन्त्री गोयलले २०३० सम्ममा निर्यात राजस्वमा $ २ ट्रिलियन प्राप्त गर्ने लक्ष्य राखेका छन् साथै राज्य र उद्योग निकायहरूलाई यसतर्फ काम गर्न आग्रह गरेका छन्
पर्यटन साथै वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ थेन्डुप भोटियाले सिक्किमको रचनात्मक क्षमतामाथि प्रकाश पार्दै एनिमेसन, मंगा र फिल्म जस्ता नयाँ क्षेत्रहरू र सृजनात्मक उद्योगहरूको हब बन्नेसक्ने सम्भावना र रचनात्मक क्षमता बारे जोड दिए। उनले अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन र विश्वस्तरको पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्ने विषयमा पनि जोड दिएका छन्।
मन्त्री भोटियाले नाथुला र चिवाभञ्ज्याङ मार्फत सीमा व्यापार खोल्न अपील गरेका छन्। केन्द्रिय मन्त्री गोयलले सिक्किमको निर्यात राजस्व ८० करोड रुपियाँबाट बढाएर २०३० सम्ममा ८००० करोड रुपियाँ बढाउने सम्भावनालाई स्वीकार गर्दै सरोकारवालाहरूलाई समन्वयात्मक प्रयास गर्न आग्रह गरेका छन्।





