गान्तोक, ११ सेप्टेम्बरः सिक्किम एएनएम जानुका पाण्डे प्रतिष्ठित ‘नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार’-ले सम्मानित भएकी छन्। राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच पाण्डेलाई उक्त अवार्ड अर्पण गरेकी हुन्। जानुका पाण्डे नाम्ची जिल्लाको दामथाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एएनएमकेको पदमा सेवारत छन्।
पछिल्ला ३० वर्षदेखि स्वास्थ्य सेवामा संलग्न रहेकी जानुका पाण्डेलाई भारत सरकारको क्षयरोग मुक्त अभियान अन्तर्गत आरएनटीसिपीको कार्यान्वयनका लागि महत्त्वपूर्ण भूमिकालाई कदर गर्दै नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गरिएको हो। यसअघि उनलाई सिक्किम सरकारले प्रसंसा पत्रद्वारा सम्मान जनाएको थियो।
आज राष्ट्रपतिको बाहुलीबाट नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्राप्त गरेकी जानुका पाण्डेलाई मुख्यमन्त्री पिएस गोलेले बधाई दिएका छन्। यो प्रतिष्ठित पुरस्कार नर्सहरूका लागि सर्वेच्च सम्मान हो भन्दै मुख्यमन्त्रीले पुरस्कारले नर्सहरूको उत्कृष्ट समर्पन र अनुकरणीय योगदानलाई मान्यता दिएको बताएका छन्।





