गान्तोक, ११ सेप्टेम्बरः ५८औं नथुला दिवसको अवसरमा बुधवार भारत चीन सीमामा पर्ने सिक्किमको नथुला घाटीमा भारतीय सेनाका शहिद जनावहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री पीएस गोले, सिक्किम उच्च न्यालयका मुख्य न्यायाधीस विश्वनाथ सोमाद्दार, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा ,भारतीय सोनाको १७औं पर्वतीय खण्डका मेजर जनरलसहित सिक्किम सरकारका मुख्य सचिव,पुलिस महानिदेशक एवं उच्च अधिकारीहरूले कार्यक्रममा भाग लिएका थिए।
नथुला दिवस कार्यक्रम अवधि राज्यपाल, मुख्यमन्त्री लगायत उपस्थित विशिष्ट व्यक्तिहरूले सेरेथाङ वार मेमोरियलमा देश रक्षाको निम्ति बलिदान दिएका भारतीय सेनाका वीर जवानलाई श्रद्धाञ्जली अर्पण गरे। ५८ नथुला दिवसको अवसरमा सहभागी बनेर राज्यपाल, मुख्यमन्त्री, मुख्य न्यायाधीश साथै अन्यले देशको रक्षामा दिनरात खटिएका जवानको हौसला बडाउने काम गरे।
कार्यक्रममा भाग लिन नथुला पुगेका राज्यपाल, मुख्यमन्त्री, मुख्य न्यायाधीस र अन्य अतिथिलाई भारतीय सेनाका अधिकारीहरूले स्वागत जनाउँदै नाथुलाको ऐतिहासिक साथै सामरिक महत्त्वबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल ओम प्रकाश माथुरले देश सुरक्षामा खटिएका जवानहरूलाई प्रोत्साहित गरे। १९६७ मा भाएको भारत चीन सङ्घर्षमा भारतले महत्त्वपूर्ण जीत हासिल गरेका कारण राज्यपालले नथुला दिवसलाई ‘नाथुला विजय दिवस’ को रूपमा पालन गर्नुपर्ने सुझाउ राखे। उनले भने, १९६७ को नाथुला सङ्घर्ष हाम्रो इतिहासमा अदम्य साहस र धैर्यको प्रतीकका रूपमा अङ्कित छ। यस घाटीले हाम्रो देशको सीमाको रक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसँगै हाम्रा बहादुर जवानहरूको समर्पण र साहसलाई पनि प्रदर्शीत गरेको छ।
यस अवसरमा राज्यपाल ओम प्रकाश माथुरले नथुला सङ्घर्षमा महत योगदान दिएका लेफ्टिनेन्ट जनरल सगत सिंहको योगदानको उल्लेख गरे साथै शहिद जनावको वीरताको गाथालाई वृत्तचित्रका रुपमा प्रस्तुत गर्ने अपील गरे। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले रक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए।
५८औं नथुला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले भारतीय सेनालाई विजय दिवसको बधाई दिए। उनले देश रक्षामा खटिएका जवानप्रति आभार व्यक्त गरे साथै उनीहरूको बहादुरीलाई सलाम गरे। उनले नथुला दिवसलाई भारतीय सेनाका वीर सैनिकको बहादुरी र सर्वोच्च बलिदानको प्रतिक रहेको बताए। सेनाले राष्ट्रप्रति देखाएको समर्पन र बलिदानको कारण देशवासी सुरक्षित रहेको उल्लेख गरे। यस अवसरमा मुख्यमन्त्री गोलेले पूर्व छिमेकी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न सफल भएको भन्दै पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई स्मरण गरे।





