गान्तोक, १० सेप्टेम्बरः सिक्किम पुलिसका महानिदेशकले पुलिसमा सेवारत सदस्यहरूलाई सोशल मिडिया प्लेटफार्ममा नाच्दै, गाउँदै र अभिनय गरेका भिडियो पोस्ट गर्नबाट रोक लगाउन निर्देश दिएका छन्।
पुलिस महानिदेशक एके सिंहले जारी गरेको निर्देशमा भनिएको छ, “यस प्रकारको आचरण पूर्ण रूपले अनुचित छ र अनुशासित व्यवहारमा खड़ा पुलिस बलका सदस्यका लागि अशोभनीय छ।”
सबै इकाई प्रमुखहरूलाई यस प्रकारको कार्य तुरन्तै साथै स्थायी रूपमा रोक लगाएको सुनिश्चित गर्नुपर्ने निर्देश पुलिस महानिकेशकले दिएका छन्।
निर्देशमा भनिएको छ, “भविष्यमा सबै उल्लङ्घनका लागि सम्बन्धित इकाई प्रमुख साथै कमाण्डलाई जवाफदेही ठहऱ्याइनेछ।”
यो निर्देश सिक्किम पुलिसको पेशेवर छबीलाई बनाइराख्न साथै सार्वजनिक सुरक्षा सुनिश्चित गर्नका लागि जारी गरिएको बताइएको छ।





