गान्तोक, ९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) फेरि विवादमा परेको छ। यसपल्ट एसएफएको ए डिभीजन एस लीग खेलिरहेको सिक्किम बोइज फुटबल क्लबले पक्षपातको आरोप लगाउँदै लीग बहिष्कार गर्ने निर्णय लिएपछि एसएफए नयाँ विवादमा मुछिएको हो।
सिक्किम बोइज फुटबल क्लबका प्रबवन्धन, कोच र कप्तानले सोमवार पत्रकार सम्मेलन गरेर सिक्किम फुटबल एसोसिएशनमाथि पक्षपात र लीग खेलाउने क्षमता नभएको आरोप लगाए। एसएफएको असक्षमताले गर्दा नयाँ शुरु भएको ए डिभीजन लीगमा अनुभवहिन रेप्री राखिएको जसका कारण लगभग सबै म्याच विवादमा आएका सिक्किम बोइज फुटबल क्लबले आरोप लगाएको छ।
सोमवार पत्रकार सम्मेलन आयोजन गरेर सिक्किम बोइज फुटबल क्लबले एसएफए ए डिभिजन एस-लीग बहिष्कार गर्ने घोषणा गऱ्यो। क्लबले लीग आयोजक सिक्किम फुटबल एसोसिएशनमाथि पक्षपातको आरोप लगाउँदै लीग खेलाइरहेका रेफ्रीहरूको क्षमतामाथि पनि प्रश्न उठाएको छ। रेफ्री कमजोर भएका कारण लगभग हरेक खेलमा विवाद र टकरावको स्थिति पैदा भएकाले लीगको गरिमा नै नरहेको कारण टिमले लीग बहिष्कार गरेको सिक्किम बोइज फुटबल क्लबका प्रतिनिधिहरूले बताएका छन्।
एसएफएले लीगमा राखेका रेफ्रीहरूले लाइन्स सहायक रेफ्रीको सुझाउलाई पनि ध्यानमा नराखेको क्लबको आरोप छ। उनीहरूकै कारण अहिलेसम्म खेलाइएका छवटा खेलमध्ये तीनवटामा विवाद सिर्जना भएको र खेलाडी र एसएफए माझ झगडाको स्थिति सिर्जना भइरहेकोले लीग खेल्नु कुनै औचित्य नरहेको क्लबको आरोप छ। एसएफएले विवाद सुल्झाउन कुनै पहल नै गरेको छैन भन्दै यो विवाद साम्य नभए अन्य क्लबले पनि लीग छोढ्ने सिक्किम बोइज फुटबल क्लबले दावी गरेको छ।
क्लबको आरोपलाई लिएर सिक्किम फुटबल एसोसिएशनबाट कुनै स्पष्टिकरण आएको छैन। यसअघि सिक्किम फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडले खेलाइरहेको सिक्किम प्रिमियर लीग आफ्नो नाममा खेलाउने निर्णय लिएपछि एसएफए विवादमा आएको थियो। मुख्यमन्त्रीको असन्तुष्टि पछि सिक्किम प्रिमिरयर लीगबाट पछि हटेको एसएफए ए डिभिजन लीगको शुरुआतमै विवादमा परेको छ।





