गान्तोक, ९ सेप्टेम्बरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारीशक्ति राज्यस्तरीय सामूहिक तीज उत्सव भव्यताका साथ पालन गऱ्यो। आतवार ८ सेप्टेम्बरको दिन रानीपुल नजिक सरमसा गार्डनमा आयोजित उत्सवमा पारम्परिक एंव सांस्कृतिक पोशाकमा हजारौं महिलाहरूको उपस्थिति रहेको थियो। स्तरीय तीज उत्सवमा सिक्किमका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहेका थिए।
सामूहिक राज्यस्तरीय तीज उत्सव २०२४ को मुख्य आकर्षण राज्यस्तरीय तीज नृत्य प्रतियोगिता रहेको थियो जसमा जङ्गु निर्वाचन क्षेत्र विजयी बनेरर नगद राशी दस लाख रूपियाँको पुरष्कार जित्न सफल भएको छ। प्रतियोगितामा गान्तोक जिल्लाको स्यारी निर्वाचन क्षेत्र दोस्रो र गेजिङ जिल्लाको याङथाङ निर्वाचन क्षेत्र तेस्रो बनेर क्रमैले सात लाख रुपियाँ र पाँच लाख रूपिँयासहित प्रमाण पत्र प्राप्त गरेका छन्। फाइलन राउण्डको निर्णयक टोलीमा काठमाण्डौका प्रख्यात कोरियोग्राफर कमल राई, मुम्बईबाट आएकी सुस्मा सुनाम र गान्तोककी निशा रसाइली रहेका थिए।
उत्सव आयोजन समितिकी अध्यक्ष एवम् सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाले आफ्नो सम्बोधनमा सिक्किमको इतिहास मै पहिलोपल्ट सामूहिक तीज उत्सव आयोजन गरिएको बताइन्। उनले नारीहरूको सम्मान र कल्याणप्रति समर्पित वर्तमान राज्य सरकारले यति विशाल कार्यक्रम आयोजन गरेर महिलाहरूको सम्मानलाई थप उँचाईमा पुऱ्याएको बताइन्।
थापाले वर्तमान सरकारले राज्यका नारीहरूको दक्षतामाथि विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी र सहयोग प्रदान गरिरहेको उल्लेख गरिन। धार्मिक विश्वास अनुसार माता पार्वती, भगवान विष्णुको मार्गदर्शनलाई अप्नाएर महादेव प्राप्तिको लक्ष्यमा सफल भएको विषयलाई एक शिक्षाको रूपमा लिएर आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्वलाई बोध गर्न सकिएमा, हरेक कार्यमा लक्ष्य प्राप्त गर्न सकिने उनले बताइन्। मुख्यमन्त्री पीएस गोलेको परिकल्पनामा आरम्भ भएका मेरो रूख मेरो सन्तति, आमा सशक्तिकरण योजना, बहिनी योजना, वात्सल्य योजना समेत अनेकौ राजनीतिक एंव सामाजिक पहलहरूमाथि उनले प्रकाश पारिन।
कार्यक्रममा सिक्किमका सम्पूर्ण नारीहरूलाई प्रतिनिधित्व गर्दै आयोजक एककेएम नारीशक्तिको पक्षबाट मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन जनाइएको थियो। समितिले सिक्किम विधानसभाकी प्रथम महिला अध्यक्षा कलावती सुब्बा र वर्ष २०२४ को राष्ट्रीय शिक्षक पुरष्कार प्रापक मोर्डन उच्च माध्यमिक विध्यलयकी शिक्षक याङकिला लामालाई पनि अभिनन्दन गरे। कार्यक्रममा गंगा पर्साईंले तीज उत्सवको महत्व र यस पर्वको सान्दर्भिकतामाथि संक्षिप्त जानकारी साझा गरेकी थिइन।
-आईपीआर विभागको विज्ञप्तिबाट





