गान्तोकः सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा उठाएर सिक्किम सरकारलाई घेराउ गरिरहेका विपक्षी पार्टीलाई मुख्यमन्त्री पीएस गोलेले जबाफ दिएका छन्। मङ्गलबार एसकेएम पार्टीको 13औं स्थापना दिवसको अवसरमा रिनाक निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले दार्जीलिङ सिक्किम एकिकरण असम्भव विषय हुँदाहुँदै पनि विपक्षी पार्टीका नेताहरूले चम्काएर कतिपय व्यक्तिलाई यस मुद्दालाई उचाल्न लगाएको बताए। भारतको संविधान र सिक्किमको विशेष सुरक्षा कवच 371एफको आधारमा सिक्किम र दार्जीलिङको आ-आफ्नै अस्तित्व रहेको बताउँदै सिक्किम अन्य क्षेत्रमा विलय पनि नहुने र सिक्किमले अन्यको भागलाई पनि विलय नगराउने स्पष्ट पारे। दार्जीलिङ सिक्किम एकिकरणको माग मुद्दाबिहिन व्यक्तिहरूको काम मात्रै रहेको मुख्यमन्त्रीको भनाइ छ।
आगामी 10 फरवरीका दिन दार्जीलिङ र सिक्किमका प्रतिनिधिलाई लिएर दिल्लीमा हुने भनिएको प्रस्तावित बैठक केवल 12 जातिलाई जनजाति बनाउने मुद्दामा मात्र केन्द्रित रहेको मुख्यमन्त्रीले बताएका छन्। सिक्किमले गठन गरेको उच्चस्तरीय समिति जनजातिका लागि रहेको जानकारी दिंदै यसमा सम्बन्धित जात गोष्ठिका जनप्रतिनिधि, सरकारी कर्मचारी, जात गोष्टिका प्रतिनिधि र सरकारले गठन गरेको समितिका सदस्यहरू सामेल रहने जानकारी दिए। 2002 मा लिम्बू—तामाङ समुदायले जनजातिको मान्यता प्राप्त गर्दा पनि सिक्किम र दार्जीलिङका यी समुदाय मात्र जनजातिमा सामेल भएको र अहिले 12 जातिका लागि गरिएको जनजातिको माग पनि सिक्किम र दार्जीलिङका लागि मात्रै भएकाले बैठकमा दुवै स्थानका प्रतिनिधि सहभागी हुनु सामान्य विषय रहेको बताए। तथापि यो मुद्दा सफल हुन नदिने मानसिकता कतिपय मानिसहरूमा रहेको आरोप लगाउँदै सरकारको पहललाई असफल बनाउने प्रयास भइरहेको छ भन्दै मुख्यमन्त्रीले जनजाति मुद्दा सफल बनाउने र सिक्किमलाई जनजाति राज्य बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “10 फरवरीको बैठकलाई लिएर विपक्षीले ननइस्युलाई इस्यु बनाउँदैछन, जनता होसियार हुनुपर्छ।”
अर्कोतिर पीजी मेडिकलमा सर्वोच्च न्यायालयबाट 29 जनवरीमा आएको फैसलाले सिक्किमलाई कुनै प्रकारको असर नगर्ने मुख्यमन्त्री गोलेले बताएका छन्। रुल 4/4 लगायत अन्य विभिद पक्षहरूले सिक्किमलाई विशेष अधिकार दिएका कारण यस विषयलाई मुद्दा बनाउने औचित्य नै नरहेको मुख्यमन्त्रीको भनाइ छ।
मुख्यमन्त्री गोलेले एसकेएम सरकार सिक्किम र सिक्किमे जनताको सुरक्षामा पूर्ण रुपले प्रतिवद्ध रहेको बताए। सिक्किम र सिक्किमे जनताको इन्ट्रेसलाई सरकारले सधै सुरक्षा दिने मुख्यमन्त्रीले आफ्नो प्रतिवद्धता दोहोऱ्याए साथै सिक्किम र सिक्किमे जनताको पूर्ण सुरक्षाको जिम्मेवारी एसकेएम सरकारसँग रहेको बताए। उनले भने, “म सिक्किम बिगार्न होइन सिक्किमलाई सपार्न राजनीतिमा छु। मेरो घिच्रो जाओस तर सिक्किमलाई आँच आउन दिन्न।” सिक्किम र सिक्किमे जनताको विषयलाई लिएर राज्य बाहिरबाट बोलिरहेका कतिपय मानिसमाथि प्रहार गर्दै मुख्यमन्त्रीले भने, “सिक्किमबारे बोल्न बाहिरका मान्छेलाई कुनै अधिकार छैन।” राज्य बाहिरबाट आएका कामदार अन्य मानिसहरू माथि सरकारको निगरानी हुने बताउँदै सरकारले कामदारहरूलाई परिचयपत्र दिने र उनीहरू स्थायी रूपमा सिक्किममा बस्न नपाउने पनि स्पष्ट पारे।
सिक्किममा साम्प्रदायिक सद्भावनालाई कायम गर्न सफल हुनु एसकेएम सरकारको सबैभन्दा ठूलो उपलब्धि रहेको दाबी गर्दै मुख्यमन्त्री गोलेले पछिल्ला पाँच वर्षमा सिक्किमबाट जातिवादको कुरा हराएर गएको बताए। तर सिक्किमले प्राप्त गरेको यस उपलब्धिमाथि आह्रिस गर्नेहरूको जमात बढेको र उनीहरूले नै जनतालाई भड्काउने प्रयास गरिरहेका आरोप लगाउँदै यस्तो हर्कतलाई सरकारले सहन नगर्ने मुख्यमन्त्रीले बताए। उनले कसैको नाम नलिइकन शोसल मिडियामा जातिबादको कुरा गर्ने सिक्किमको दुस्मन रहेको एकजुट बनेको सिक्किमे जातिलाई बिथोल्ने प्रयास नगर्न चेताउनी पनि दिए। उनले भने, “जातिबाद समाजको दुश्मन हो, हामी सिक्किमे एक हौं र एक भएर रहनेछौं।”
रिनाक निर्वाचन क्षेत्रको विकास बारे बोल्दै मुख्यमन्त्री गोलेले क्षेत्रको समग्र र दीगो विकासका लागि सरकारले योजना तयार पारेको र आगामी पाँच वर्षभित्र रिनाकलाई नमूनाको क्षेत्र बनाउने आफ्नो परिकल्पना रहेको बताए। मुख्यमन्त्री रिनाकमा आफ्नो परिकल्पना अनुरुप एउटा राम मन्दिरको निर्माण गर्ने, रिनाक निर्वाचन पाकिम जिल्लालाई दोस्रो राजधानीको रुपमा विकास गर्न नयाँ टाउनसिप निर्माण गर्ने बताउँदै विताक परियोजनालाई सफल बनाउन जनताको सहयोगको अपील पनि गरे।





