गान्तोक, ६ सेप्टेम्बरः पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय (डोनर) को पक्षबाट सिक्किमलाई ३२६ करोड रुपियाँ स्वास्थ्य पूर्वाधार विकासका लागि सहयोग प्राप्त हुने भएको छ। मुख्यमन्त्री पीएस गोलेले तीनवटा योजनाका लागि डोनर मन्त्रालयको पक्षमा राखेका मागलाई डोनर मन्त्री ज्योतिरादित्य सिंधियाले पूरा गर्ने वचन दिएका। दुई दिनको सिक्किम भ्रमणमा आएका केन्द्रिय मन्त्री सिंधियाले शुक्रवार सम्मान भनवनमा मुख्यमन्त्री पीएस गोलेसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरे।
सिक्किमको पक्षमा डोनर मन्त्रालयको पक्षबाट प्रतिवद्धता व्यक्त गर्दै उनले मगनमा ७० पलङयुक्त अस्पतालका लागि ६ करोड रुपियाँ स्वीकृत भएको र निर्माण पूरा भएकाले मिति तय गरेर यसको चाँडै उद्घाटन गरिने बताए। गान्तोकमा प्रस्तावित सरकारी मेडिकल कलेजका लागि १७० करोड रुपियाँको प्रस्ताव सिक्किम सरकारको पक्षबाट डोनर मन्त्रालयमा आएको जानकारी दिंदै यो पनि चाड़ै स्वीकृत गरिने बताए। यो रकम स्वीकृत भए सिक्किममा सरकारी मेडिकल कलेज निर्माणमा सरकारी प्रस्तावमाथि मोहर लाग्नेछ। नाम्चीमा निर्माणाधिन ५०० पलङयुक्त जिल्ला अस्पतालमा आवश्यक उपकरण र फर्निचर खरिद गर्नका लागि सिक्किम सरकारले दिएको १५० करोड प्रस्तावमाथि पनि काम चाँडै कार्य शुरु हुने केन्द्रिय मन्त्रीले बताएका छन्।
पत्रकार सम्मेलनलाई उनले नेफाली भाषामा सम्बोधन गरेका थिए। यस अवसरमा मन्त्री सिंधियाले पूर्वोत्तर क्षेत्र विकासमा १० वर्षको अन्तरालमा केन्द्र सरकारले धेरै खर्च गरेको बताए। संचार मन्त्री समेत रहेका उनले पूर्वोत्तरमा टेलीकम क्षेत्रमा साढे चारहजार गाउमा टावर निर्माण गरिएको साथै चार हजार करोड निवेश गरिएको जानाकरी दिए। गान्तोक र नाम्ची स्मार्ट सिटी मिशन अन्तर्गत आठ प्रोजेक्टमा २५० करोड खर्च गरिने र भाइब्रेन्ट भिलेज अन्तर्गत सिक्किमका ४६ गाउँ प्रस्तावित रहेको जानकारी दिएका छन्। २०१४ को तुलनामा सिक्किममा राष्ट्रिय राजमार्ग १४० किलोमिटरबाट बढेर ७०९ किलोमिटर भएको बताए। रम्फू रेलवे स्टेशनलाई अमृत भारत स्किममा सामेल गरिएको साथै पाकिम एयरपोर्टमा हवाई सेवा बढाउने बारे पनि पहल भइरहेको बताए।
केन्द्रिय मन्त्रीले सिङ्सोर पुललाई पिएम डिभाइ प्रोजेक्टमा सामेल गरिएको, भालेढुङ्गा स्काईवाक योजना स्वीकृत भएको साथै सेवक रम्फू रेलवे अगस्त २०२५ मा पूरा गर्ने लक्ष्यमा काम भइरहेको बताए। विकास अनि प्रगतिलाई प्राथमिता दिएर पूर्वोत्तरमा एउटा ब्याङ्कर्स कनक्लेभ, आगामी मार्च महिनामा नर्थइस्ट इन्ड्रस्ट्रीयल समिट र अस्टलक्ष्मी कल्चरल (हस्तकला, हतकर्घा) समिट आयोजना गर्ने बारे मुख्यमन्त्रीसँग चर्चा भएको बताए।
सिक्किमसँग आफ्नो पारिवारीक सम्बन्ध रहेको र यहाँको संस्कृति र खानपानबाट आफू धेरै प्रधावित बनेको मन्त्रीले बताए। डोनर मन्त्री पद ग्रहणपछि आफ्नो पहिलो सिक्किम भ्रमण राम्रो भएको उनले बताएका छन्।
यस अवसरमा मुख्यमन्त्री पीएस गोलेले केन्द्रिय डोरन मन्त्रीलाई सिक्किमका जनता र सरकारको पक्षबाट धन्यवाद दिए। दिल्लीमा भेट भएको पाँच दिन पछि नै केन्द्रिय मन्त्री सिंधिया सिक्किम भ्रमणमा आएकोमा खुसी व्यक्त गर्दै लगभग ४०० करोड रुपियाँ सिक्किमको पक्षमा स्वीकृत गर्ने वचन सिक्किमका लागि उपलब्धिपूर्ण रहेको बताए। आज भएको बैठक पनि फलदायी भएको मुख्यमन्त्रीले जानकारी दिए साथै मन्त्रालयबाट स्वीकृत योजनालाई प्रभावकारी ढङ्गमा कार्यान्वयन गर्न विभागीय अधिकारीहरूलाई निर्देश पनि दिए। आगामी १६ मई २०२५ मा आयोजना गरिने सिक्किम राज्य दिवसको स्वर्ण जयन्ती समारोहमा सहभागी बनिदिन मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीलाई निमन्त्रणा दिएका छन्





