गान्तोक, ४ सेप्टेम्बरः सिक्किमका सबै सहकारी समितिलाई एकै लक्ष्यमा अघि बढाउने उद्देश्यका साथ २२ वर्ष सहकारिता क्षेत्रको अनुभव रहेका मङ्गलजित राईले सिक्किम राज्य सहकारी संघ (सिकोन) को अध्यक्ष पदभार ग्रहण गरेका छन्। सिकोनको पाँचौं बोर्ड अफ् डाइरेक्टको अध्यक्ष पदमा निर्वाचित भएका राईले ३२५ मात्र सहकारी समिति आवद्ध भएको संघमा सबै समितिलाई सदस्य बनाउने प्रतिवद्धता साथ पाँच वर्ष काम गर्ने बताए। बुधवार आसामलिङ्जे स्थित सिकोन कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पदको शपथ ग्रहण पछि मङ्गजित राईले सिक्किमका सबै पञ्चायत वार्डमा बहुउद्देश्यीय सहकारी समिति गठन गर्नुपर्ने प्रक्रियालाई अनिवार्य गराउन सहकारिता विभागका मन्त्री अरुण उप्रेती समक्ष आग्रह पनि गरे।
पछिल्लो ७ अगस्तका दिन सिकोनको बोर्ड गठनका लागि चुनाउ अनि २७ अगस्तमा अध्यक्ष र अन्य पदका लागि निर्वाचन पछि बोर्ड अफ डाइरेक्टरका सबै सदस्यहरूले आज शपथ लिए। सहकारिता विभागले आयोजन गरेको समारोहमा विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि साथै सिक्किम सरकारको वन विभागका मन्त्री पिञ्चो नामग्याल लेप्चा विशेष अतिथिका रुपमा उपस्थित थिए। सहकारी आन्दोलनलाई जन-जनमा पुऱ्याउन काम गरिरहेको सहकारिता विभागले कार्यक्रममा राज्यका छवटै जिल्लाबाट सहकारी समितिका सदस्यहरूलाई कार्यक्रममा सहभागी गराएको थियो।
सिकोनको अध्यक्ष पदको शपथ लिएपछि कार्यक्रममा बोल्दै अध्यक्ष मङ्गलजित राईले नयाँ चुनाउ पछि सिकोनको बोर्ड अफ डाइरेक्टरले अनिवार्य शपथ लिनुपर्न नियम बनाउन र सिकोनको पुर्वाधारलाई व्यवसायिक प्रयोगमा ल्याएर यसको यसलाई स्वनिर्भर बनाउन सरकारले अनुमोदन गर्नुपर्ने माग विभागका मन्त्री समक्ष राखे। सहकारी आन्दोलनलाई सशक्त गराउनका लागि सिक्किम सहकारी युवा शाखा गठन गर्ने राईले बताएका छन् साथै सरकारको सुनौलो, संवृद्ध र सामर्थ सिक्किम निर्माणको परिकल्पना साकार गराउन पञ्चायत र सहकारी समिति हातेमालो गरेर अघि बढ्नुपर्ने आग्रह गरेका छन्।
कार्यक्रममा बोल्दै सहकारी विभागका मन्त्री अरुण उप्रेतीले सिक्किममा सहकारी विकासको क्षेत्रमा नयाँ शुरुआत भएको बताए। सिकोनको नयाँ नेतृत्वले सहकारितालाई नयाँ उच्चाइमा पुऱ्याउनेछ भन्ने विश्वास राख्दै मन्त्री उप्रेतीले सिकोनको बोर्ड अफ डाइरेक्टरद्वारा पारित गरेर सरकारमा ल्याइएका विषयलाई सकारात्म रुपमा अघि बढाउने आश्वासन दिएका छन्।
सिकोनको बोर्ड अफ डाइरेक्टरले शपथ ग्रहण गरेको यो पहिलो अवसर हो। यसरी शपथ ग्रहण गरेर काम शुरु गर्दा नवनिर्वाचित सदस्यलाई काम गर्ने उर्जा मिल्ने साथै उनीहरूमा जिम्मेवारीको भावना विकास हुने संघ सदस्यहरूको तर्क छ।





