गान्तोकः मनन केन्द्रमा आज आयोजित 7औं सारथी सम्मान दिवस कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राज्यका चालकहरूको सम्मानमा समर्पित यो कार्यक्रम विश्वमै अनुपम रहेको बताए। उनले सारथी दिवसका अवसरमा चालक समुदायलाई बधाई र शुभकामना व्यक्त गर्दै, चालकहरूको योगदानबिना राज्यको विकास असम्भव रहेको उल्लेख गरे।
मुख्यमन्त्रीले विगतमा विपक्षी रहेका बेलादेखि नै एसकेएम पार्टीले चालकहरूको सम्मान गर्दै आएको स्मरण गराउँदै 2019 मा सरकार गठनमा चालक समुदायको विशेष योगदान रहेको बताए। सरकार गठनपछिका पहिलो वर्षदेखि नै प्रत्येक वर्ष 27 जुलाईलाई ‘सारथी सम्मान दिवस’का रूपमा मनाउन थालिएको जानकारी दिए।
सम्बोधनका क्रममा उनले चालकहरूको सीप, साहस र सेवाको प्रशंसा गर्दै सरकारको तर्फबाट मनदेखि सम्मान जनाउन आफू सहभागी भएको बताए। तथापि कार्यक्रममा अधिकारीहरूको न्यून उपस्थिति रहेकोप्रति खेद व्यक्त गरे। उनले चालक समुदायले सारथी आइडलजस्ता कार्यक्रमहरूमा देखाएको प्रतिभाको सराहना गरेका छन्।
मुख्यमन्त्री गोलेले चालकहरूको जीवनस्तर उकास्न राज्य सरकारले विभिन्न योजना सञ्चालन गरिरहेको जनाउँदै सिक्किम गरीब आवास योजना अन्तर्ग छिट्टै चालकहरूका निम्ति तीन सय घर निर्माण कार्य प्रारम्भ हुने घोषणा गरे। साथै चालक परिवारलाई जीसीआई सीट, इनभर्टर जस्ता सहुलियतहरू वितरण भईरहेको पनि उनले जानकारी गराए।
मुख्यमन्त्रीले चालक कल्याण बोर्डमार्फत परिवारलाई सहयोग पुर्याउने उद्देश्यले हरेक वर्ष एक करोड रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिए। चालकका छोराछोरीहरू उच्च पदमा नियुक्त भइसकेको उदाहरण दिँदै, उच्च शिक्षामा पनि सरकारले पूर्ण सहयोग गरिँदै आएको बताए।
पर्यटनलाई ध्यानमा राख्दै सडक पूर्वाधारलाई मजबुत बनाउने कार्य भइरहेको उल्लेख गर्दै राजधानी गान्तोकको वेस्ट पोइन्ट पार्किङ सुविधामा पश्चिम र दक्षिण जिल्लाको ट्याक्सी स्ट्यान्ड पुनः सञ्चालन गरिने र सबै जिल्लामा पार्किङ पूर्वाधार निर्माण भइरहेको जनाए।
मुख्यमन्त्रीले चालकहरूको मेडिकल बीमा सुविधा उपलब्ध गराइने, एआई चेकिङ सम्बन्धी समस्या र चालनमा राहत दिइने, डिजिटल कागजातहरू मान्य हुने व्यवस्था गरिएको, साथै एआई चलानमा छुट दिइएको जानकारी पनि साझा गरे।
कार्यक्रममा उनले राज्यका आमाहरूको सम्मानमा हरेक वर्ष 10 अगस्तमा ‘आमा सम्मान दिवस’ मनाइने घोषणा गरे। यस अन्तर्गत 32 हजार आमाहरूलाई पहिलो किस्ताका रूपमा 20-20 हजार रुपियाँ प्रदान गरिने बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको अन्त्यमा समाजका सबै वर्गलाई जोड्ने उद्देश्यले राज्य सरकारले धेरै सम्मानात्मक कार्यक्रमहरू अघि बढाइरहेको बताए।





