गान्तोक: पूर्व विधायक तथा भारतीय जनता पार्टी (भाजपा), सिक्किमका सदस्य वाईटी लेप्चाले आफूमाथि पार्टी अध्यक्ष डीआर थापाको आदेशमा निष्कासन गरिएको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय न त वैधानिक भएको न त पार्टीको आन्तरिक नीति तथा प्रक्रिया अनुसार भएको दाबी गरेका छन्।
लेप्चाले भनेका छन्, “भाजपाजस्तो सुसंहितापूर्ण राष्ट्रिय पार्टीमा सदस्यको निष्कासन वा निलम्बन प्रक्रिया निर्धारित हुन्छ, जसमा चेतावनी, कारण देखाउ पत्र वा स्पष्टीकरणको अवसर प्रदान गरिन्छ। तर मेरो सन्दर्भमा कुनै औपचारिक प्रक्रिया नअपनाई मिडियामार्फत सूचना फैलाउनु गैरजिम्मेवार कार्य हो।”
उनले पार्टीप्रति आफू पूर्ण निष्ठावान् रहेको र सिक्किममा पार्टीको जरा बसाल्ने क्रममा व्यक्तिगत रूपमा महत्वपूर्ण योगदान दिएका स्मरण गराउँदै वर्तमान अवस्थामा पार्टीभित्र केही स्वार्थपूर्ण गुट सक्रिय रहेको आरोप पनि लगाए। लेप्चाअनुसार, “यिनै व्यक्तिहरू विगतमा भाजपा र यसको विचारप्रति आलोचनात्मक रहे पनि अहिले पार्टी कब्जा गरेर आफ्ना स्वार्थ सिद्ध गर्न खोजिरहेका छन्।”
वाईटी लेप्चाले भनेका छन्, “2019 पछि पार्टीभित्र रहेका केही नेताहरूको गतिविधि भाजपा नीतिको अनुरूप नभई बाह्य शक्तिको निर्देशनमा संचालित हुँदै आएको देखिन्छ। यिनीहरूले एसडीएफसँग मिलेर वैकल्पिक सत्ता निर्माणको प्रयास गर्दै पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेका छन्, यद्यपि पार्टी हाल एसकेएमसँग गठबन्धनमा रहेको छ।”
अन्त्यमा उनले पार्टीको केन्द्रिय नेतृत्वसँग माग गर्दै भनेका छन्, “पार्टीभित्र बसेर प्रतिगामी गठबन्धनको पक्षमा कार्य गरिरहेका यस्ता व्यक्तिहरूमाथि गम्भीर समीक्षा गरियोस् र आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइयोस्।”





