गान्तोकः सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज गान्तोकको तादोङ र देवरालीमा तीनवटा महत्त्वपूर्ण पूर्वाधार उद्घाटन गरे। मुख्यमन्त्रीले तादोङ होली क्रस स्कूल नजिकै निर्माण सम्पन्न भएको नयाँ फुटओभर ब्रिज, तादोङ डाँडागाँउमा शुरु गरिएको सिक्किम राज्य ब्याङ्कको नयाँ शाखा र देवरालीमा पुलिस चौकीको नयाँ भवन उद्घाटन गरे।
होली क्रस स्कूल नजिक निर्माण भएको फुटओभर ब्रिज निर्माणले विद्यार्थी र अभिभावकहरूलाई व्यस्त सडक पार गर्दा सुरक्षित आवागमन सुनिश्चित गर्नुका साथै सडक दुर्घटनाको जोखिमलाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। साथै, यो ब्रिजले सवारीसाधनको आवागमनलाई सहज र व्यवस्थित बनाउन पनि सहयोग पुर्याउनेछ।
डाँडागाँउमा स्थापित ब्याङ्कको नयाँ शाखाबाट स्थानीय मानिसहरूलाई वित्तीय सेवा पहुँच सजिलो हुने विश्वास व्यक्त गरिएको छ, जसले समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिनेछ।
यस्तै, देउरालीमा नवस्थापित चौकीको सञ्चालनबाट यस वरपरका क्षेत्रहरूमा शान्ति सुरक्षा तथा कानुनी कार्यान्वयन थप प्रभावकारी हुने अपेक्षा गरिएको मुख्यमन्त्रीले बताएका छन्। यी तीनवटै पूर्वाधारको उद्घाटनसँगै जनसुरक्षा, सार्वजनिक सुविधा र सामुदायिक हितप्रति सरकारको प्रतिबद्धता पुनः पुष्टि भएको उनको भनाइ छ।
मुख्यमन्त्रीले आज नै तादोङ एमपी गोलाईमा बिरूवा रोपेर कनेक्ट अर्थ अभियानको शुभारम्भ गरे। आज तादोङ होली क्रसदेखि देवरालीसम्म विभिन्न स्थानमा आयोजित कार्यक्रममा सिक्किम सरकारका मन्त्रीहरू, विधायकगण, जनप्रतिनिधी साथै स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। यसै अवसरमा मन्त्री जीटी ढुङ्गेलको अगुवाइमा शुरु अभियान अन्तर्गत अप्पर तादोङ निर्वाचन क्षेत्रका मानिसहरूले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत मेफेयर फाटकदेखि देवराली पानीहाउसम्म सडक किनारमा फुलका बिरूवा लगाए।





