गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पूर्व विधायक वाईटी लेप्चा पार्टीसँग कुनै पनि रूपमा आबद्ध नरहेको बताएको छ। यसका साथै लेप्चाले पार्टीको नाम लिएर दिएका कुनै पनि अभिव्यक्तिहरू पूर्ण रूपमा व्यक्तिगत, अनधिकृत तथा भ्रामक रहेको भाजपा सिक्किमले बताएको छ।
पार्टीले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, “वाईटी लेप्चाले 2024 को आम चुनाउको क्रममा खुल्लमखुल्ला अर्को दललाई समर्थन गर्दै स्पष्ट रूपमा पार्टी विरोधी गतिविधि गरेका थिए। यस कारणले, उनी स्वतः पार्टीको सम्पर्कबाट बाहिरिसकेका छन् र अब कुनै पनि रूपमा भाजपा सिक्किमलाई प्रतिनिधित्व गर्दैनन्।”
विज्ञप्तिमा थप भनिएको छ, “वाईटी लेप्चा भाजपा सिक्किमका सदस्य होइनन्। उनका भनाइहरू पार्टीको आधिकारिक धारणा होइनन्। भाजपा सिक्किमले आफ्नो नाम र पहिचानको व्यक्तिगत वा राजनीतिक लाभका लागि दुरुपयोग गर्नु कडा शब्दमा खण्डन गर्दछ र जनसाधारण तथा सञ्चारमाध्यमहरूलाई लेप्चाका भनाइहरूलाई भ्रामक रूपमा बुझ्न अनुरोध गर्दछ।”
पार्टी सिधा र मूल्यमा आधारित राजनीति, जनसेवा, र राज्यमा लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरणप्रति कटिबद्ध रहेको कुरा पुनः दोहोऱ्याउछ भनि विज्ञप्तिमा थप उल्लेख गरिएको छ।





