गान्तोक: भारत सरकारको सडक यातायात तथा राजमार्ग मन्त्रालयले सिक्किम राज्यमा एक नयाँ राष्ट्रिय राजमार्ग एनएच-२१० अधिसूचित गरेको छ। यो घोषणा गजेट अधिसूचना नम्बर एसओ २६३१ (ई) मार्फत १३ जुन २०२५ मा सार्वजनिक गरिएको हो।
सरकारी गजेट अनुसार, एनएच-२१० को सुरुवात मल्लीको टिस्टा पुल नजिकै एनएच-७१० को जक्सनबाट हुनेछ। उक्त राजमार्ग मल्ली, मामरिङ र समरदोङ हुँदै सिङताम नजिकै एनएच-५१० को जक्सनमा पुगेर समाप्त हुनेछ।
यस नयाँ राजमार्गको विकास र मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी नेशनल हाइवे एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटडलाई दिइएको छ।
एनएच-२१० ले सिक्किमभित्रको आन्तरिक यातायात प्रणालीलाई बलियो बनाउने अपेक्षा गरिएको छ। विशेषगरी राज्यको दक्षिण र पूर्वी भागलाई आपसमा जोड्न सहयोग पुग्नेछ। यसले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा पहुँच सहज बनाउँदै यात्रु तथा सामान ढुवानीमा समेत सहजता ल्याउने विश्वास गरिएको छ। स्थानीयवासी तथा यात्रुहरूका लागि यो राजमार्गले अबको दिनमा समय र दूरी दुबै घटाउनेछ भने, पर्यटन तथा व्यापार विस्तारमा समेत टेवा पुग्नेछ। नयाँ राजमार्ग निर्माण पूरा भएपछि सिक्किमको सिङ्ताम र पश्चिम बङ्गालको मल्ली माझको राष्ट्रिय राजमार्ग १० को वैकल्पिक उपयोगका लागि पनि हुनेछ।





