गान्तोक, २९ अगस्त: सिक्किमको पाकिम जिल्लामा पर्ने २० माइल नजिक लोअर बरदाङको टिस्टा नदी किनारमा फेरि बम फेला परेको छ। बिहिबार यहाँ बम भेटिएपछि भारतीय सेनाको बम डिफ्युजिङ टोलीले यसलाई ठेगाना लगायो।
गत वर्षको 3 र 4 अक्टोबरमा दक्षिणी लोनार्क हिमताल फुटेपछि टिस्टा नदीमा आएको बाढीले विभिन्न स्थानहरूबाट भारतीय सेनाको हतियार र गोलाबारुद बगाएको थियो। यसैक्रममा उत्तर सिक्किमको मुन्सिथाङबाट बगाएको बम बरदाङमा भेटिएको हुनसक्ने बताइएको छ।
अक्टोबरको बाढपछि टिस्टा नदी किनारका विभिन्न स्थानमा बम भेटिएको खबरहरू आएका थिए। धेरै स्थानमा भारतीय सेनाले भेटिएका बम डिफ्युज पनि गरेको थियो। टिस्टा नदीले बगाएर लगेको एउटा बिस्फोटक पड्केर पश्चिम बङ्गालको जलपाईगुडीमा दुईजनाले ज्यान गुमाएका थिए।
गत एक महिना अघि पनि मल्ली नजिक टिस्टा किनारामा बम फेला पारेको खबर आएको थियो भने बिहिबार फेरि बरदाङमा बम भेटिएपछि यसलाई निष्क्रिय गराइएको थाहा लागेको छ।





