नयाँ दिल्ली: सिटिजन एक्सन पार्टी सिक्किमले आफ्नो पहिलो राष्ट्रिय समन्वय बैठक शनिबार नयाँ दिल्लीमा आयोजना गरेको छ। यो बैठक सिक्किम बाहिर आयोजित पहिलो औपचारिक राजनीतिक बैठकको रूपमा ऐतिहासिक बनेको पार्टीले दाबी पनि गरेको छ।
पार्टी अध्यक्ष गणेश कुमार राई, राष्ट्रिय समन्वयक पोबिन हाङ्ग सुब्बा र प्रवक्ता महेश राईको उपस्थितिमा सम्पन्न उक्त बैठकमा शिक्षा, रोजगार, स्वास्थ्य र सार्वजनिक सेवाका लागि बाहिर बसोबास गर्ने सिक्किमेली नागरिकहरूप्रति विशेष ध्यान केन्द्रित रहेको बताइएको छ।
पार्टीका प्रवक्ता अल्बर्ट गुरुङले जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, “बैठकमा राष्ट्रिय समन्वय समितिको गठन गरिएको छ जसले दिल्लीमा पार्टीको संरचना बलियो बनाउँदै देशभर सिक्किमेली समुदायसँग सम्पर्क विस्तार गर्नेछ।” अध्यक्ष राईले स्वच्छ र पारदर्शी राजनीति दीर्घकालीन समाधान भएको भन्दै सबैलाई सक्रिय सहभागिताको आह्वान गरेका विज्ञप्तिमा उल्लेख छ।





