गान्तोक: सिक्किम अकादेमीले आफ्नो पहिलो अकादेमी पुरस्कार युवा चित्रकार सिवान राईलाई प्रदान गरेको छ। गान्तोकस्थित चिन्तन भवनमा बिहीबार आयोजित पुरस्कार अंलङ्करण तथा पुस्तक लोकार्पण समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
साहित्य, संस्कृति तथा मौलिक भाषाको प्रवर्द्धनलाई समर्पित समारोहमा १३ वटा पुस्तक र एक गीति एल्बम सार्वजनिक गरिनुका साथै मौलिकता झल्काउने वृतचित्र पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा सिक्किम सरकारको स्वास्थ्य अनि संस्कृति विभागका मन्त्री जीटी ढुङ्गेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
आज लोकार्पण गरिएका पुस्तकहरूमा डा. उदय छेत्री सम्पादित अकादेमी जर्नल ‘सृजन–समय २०२४’, चुनिलाल घिमिरेद्वारा सम्पादित ‘बलिदान नाटक र २२ जना स्वतन्त्र सेनानीका जीवनी’, एसआर सुब्बाको ‘कथा बनेका ब्यथाहरू’ (जीवनवृत्त), जीके शर्माको ‘मूलघर’ (उपन्यास), अमर बानियाँ ‘लोहोरो’को ‘अन्तर अनन्तर’ (कविता), पूर्ण योञ्जनको ‘हथेलीका पानी’ (कविता) – जसको हिन्दी अनुवाद सुवास दीपकले गरेका छन्, रत्न लक्सम सुब्बाको ‘बाल तृष्णा’ (वाल कविता), लुइस विष्टको ‘प्रिय जिन्दगी’ (कविता), टीका ढुङ्गेलको ‘समीक्षात्मक कोशेली’ (समीक्षा सङग्रह), अर्जुन चामलिङ ‘यावा’को ‘अभिव्यक्ति’ (अन्तर्वार्ता), ‘एन इन्ट्रोडक्सन टु एस्ट्रोलजी इन शेर्पा ल्याङ्वेज’ तथा सानु लामाका लोक गीतसहितको वृतचित्र समावेश छन्।
कार्यक्रममा लोकार्पित गीति एल्बम र वृतचित्रका झलकहरू पनि प्रस्तुत गरिएको थियो। त्यस्तै नियारा प्रोडक्सनद्वारा निर्मित लिम्बू मौलिक नृत्यहरूको सांस्कृतिक प्रस्तुति र निर्देशक नरेन गुरूङद्वारा निर्देशित ‘हाम्रो मौलिकताः हाम्रो अस्तित्व’ शीर्षक मौलिक नृत्य प्रदर्शनी समेत गरिएको थियो।
पुरस्कार ग्रहण गर्दै सिवान राईले साहित्य, संस्कृति र मौलिक भाषाको संरक्षणमा सिक्किम अकादेमीको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले सिक्किममा हालसम्म आर्ट ग्यालरीको अभाव रहेको उल्लेख गर्दै, आगामी पुस्ताका लागि कलामैत्री शिक्षाका सन्दर्भमा ग्यालरीको आवश्यकता औंल्याए।
मुख्य अतिथि मन्त्री जीटी ढुङ्गेलले कार्यक्रम आयोजनका लागि सिक्किम अकादेमीलाई बधाई दिँदै वर्तमान सरकारको कार्यकालमा कला र साहित्यले नयाँ उचाइ पाइरहेको बताए। साथै उनले कला र साहित्यलाई समकालीन र युवा केन्द्रित बनाउने आवश्यकता रहेको सुझाव पनि दिए।





