गान्तोक: सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले संस्थाको अवस्था वन महोत्सवमा रोपिएको बिरुवाजस्तै रहेको टिप्पणी गरेका छन्। बिहीबार चिन्तन भवनमा आयोजित सिक्किम अकादेमी पुरस्कार अङ्कलङ्करण तथा पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले अकादेमी स्थापना भएको दुई दशक पार गर्दा पनि संस्थाको अवस्था अपेक्षित सुधार नभएको उल्लेख गरे।
“२००२ मा स्थापना गरिएको सिक्किम अकादेमीलाई बिरुवा रोपिएजस्तै रोपियो तर पछि त्यसको हेरचाह भएन,” उनले अकादेमीको वर्तमान अवस्था वर्णन गर्दै भने, “अकादेमीको स्थायी कार्यालय छैन, निश्चित बजेट छैन, स्थायी कर्मचारी छैनन्।”
सुब्बाले अकादेमीलाई स्थापनाको १९ वर्षसम्म किरायाको घरमा सञ्चालन गर्नुपरेको र अहिले संस्कृति विभागले दिएको स्थानमा अकादेमी चलिरहेको उल्लेख गर्दै संस्थाको कार्यक्षमता बढाउन भौतिक संरचना, स्थायी कर्मचारी र बजेट सुनिश्चितता आवश्यक रहेको बताए। “सिक्किम अकादेमीको संविधानमा राष्ट्रिय स्तरको पुस्तकालयको व्यवस्था छ, तर आजसम्म त्यसका लागि ठाउँ नै छैन,” उनले स्पष्ट पारे।
कार्यक्रममा उनले पछिल्ला दुई वर्षमा राज्य सरकारबाट वार्षिक ८० लाख रुपैयाँको सहयोग प्राप्त भए पनि चालू वर्षमा बजेट घटेर ५० लाख रुपैयाँमा सीमित भएको जानकारी दिए। यस सन्दर्भमा अध्यक्ष सुब्बाले संस्कृति विभागका मन्त्री जीटी ढुङ्गेलसँग बजेट वृद्धिको आग्रह गरे।
त्यसैगरी, अकादेमीका लागि स्थायी भवन निर्माणको पहल समेत सरकारबाट हुनुपर्ने उनले जोड दिए। “अकादेमीको उन्नयनका लागि सरकार मात्र होइन, नागरिक समाजको सहयोग पनि अपरिहार्य छ,” उनले भने।
कार्यक्रममा लेखक, स्रष्टा र विभिन्न क्षेत्रका साहित्यिक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोह अवधि अकादेमी पुरस्कार वितरण र नयाँ प्रकाशित पुस्तकहरूको लोकार्पण गरिएको थियो।





