गान्तोक: सिक्किमको दक्षिण र पश्चिम क्षेत्रलाई रेलवे सञ्जालमा जोड्ने लक्ष्यसहित प्रस्ताव गरिएको मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (Final Location Survey) का लागि केन्द्र सरकारको स्वीकृति प्राप्त भएको छ। रेल मन्त्रालयले ८ मईमा उत्तर–पूर्वी सीमावर्ती रेलवे लाई सर्वेक्षण कार्य अघि बढाउन निर्देशन दिँदै २.२५ करोड रुपियाँको बजेट समेत स्वीकृत गरेको छ।
लगभग ७५ किलोमिटर लामो यस प्रस्तावित रेलमार्गले मल्ली, जोरथाङ, लेगसेप हुँदै देन्तामलाई जोड्नेछ। मल्ली दक्षिण र पश्चिम सिक्किमको प्रवेशद्वार हो भने देन्ताम भारत–नेपाल सीमास्थित चिवाभञ्ज्याङ नजिकको गाउँ हो।
सिक्किमका लोकसभा सांसद इन्द्र हाङ सुब्बाले यो निर्णयलाई ऐतिहासिक कदम भन्दै खुशी व्यक्त गरेका छन्। “मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण स्वीकृत हुनु पश्चिम सिक्किमका लागि समावेशी पूर्वाधार विकासतर्फको महत्वपूर्ण पहल हो,” उनले भनेका छन्। यस परियोजनाले दुर्गम भेगहरूलाई मुख्यधारासँग जोड्दै आर्थिक, सामाजिक र पर्यटकीय गतिविधिहरूलाई तीव्र बनाउने सांसद सुब्बाको भनाइ छ।
गत वर्ष दिसम्बरमा सांसद सुब्बाले रेल मन्त्रालय समक्ष यो प्रस्ताव प्रस्तुत गरेका थिए। निरन्तर पहल गर्दै रेल मन्त्री अश्विनी वैष्णवसहित सम्बन्धित अधिकारीहरूसँग छलफलपछि मन्त्रालयले यस परियोजनाको अन्तिम स्थान सर्वेक्षण स्वीकृत गरेको हो।
सुब्बाले यो रेलमार्गलाई हाल निर्माणाधीन सेभोके–रम्फू रेल परियोजनाको रणनीतिक विस्तारका रूपमा अघि सारेका छन्। मल्लीलाई जङ्शनको रूपमा प्रयोग गर्दै यो रेलमार्ग जोरथाङ र लेगसेप हुँदै देन्तामसम्म विस्तार गरिने उनले बताएका छन्।
यस मार्गले गेजिङलगायत पश्चिम सिक्किमका क्षेत्रमा आर्थिक गतिशीलता ल्याउने सांसदको विश्वास छ। “रेलमार्गले व्यापार, रोजगारी, औद्योगिक विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले उल्लेख गरेका छन्।
भौगोलिक हिसाबले पनि प्रस्तावित मार्ग तुलनात्मक रूपमा सहज मानिएको छ। रङ्गित खोलाको किनार हुँदै लेगसेप, त्यसपछि कालेज खोलाको किनार समातेको मार्गले तुलनात्मक कम चुनौतीपूर्ण भू–भाग ओगट्ने भएकाले परियोजना व्यवहारिक र आशाजनक रहेको सांसद सुब्बाको भनाइ छ।
सांसद सुब्बाले रेल मन्त्री अश्विनी वैष्णव र सिक्किमका मुख्यमन्त्री पीएस गोलेप्रति यस पहलमा साथ र समर्थनका लागि आभार व्यक्त गरेका छन्।





