गान्तोक: सिक्किम क्रिकेट एसोसिएसन (सिका) ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममार्फत आफ्ना तीनजना वरिष्ठ सदस्यहरूलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। ८ मईमा सोरेङ जिल्लाको श्रीबदाम स्कूलको खेल मैदानमा आयोजित कार्यक्रममा विधायक सञ्जित खरेलको हातबाट उनीहरूलाई सम्मानित गरिएको हो। कार्यक्रममा रिन्चेबुङका विधायक इरोङ तेन्जिङ लेप्चा विशेष अतिथिको रूपमा उपस्थित थिए।
लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेमा सिका सदस्य एल.एम. खवास, संयुक्त सचिव गोपाल शर्मा र पूर्व संयुक्त सचिव शेराप दोर्जी भोटिया रहेका छन्। यस अवसरमा महिला र पुरुष वर्गका राज्यस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न पुरस्कारद्वारा सम्मानित गरिएको छ भने विभिन्न क्लब र सिक्किम क्रिकेट एसोसिएसनमा योगदान पुऱ्याउनेलाई पनि सिकाले सम्मान जनाएको छ।
विभिन्न सांस्कृतिक कार्यक्रमसंग आयोजना गरिएको सिकाको ३८औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सिका महासचिव रिन्जिङ नामग्याल भोटियाले सिकाको प्रगति र यात्रा बारे जानकारी गराए।
सिक्किम क्रिकेट एसोसिएसन ८ मई १९८७ मा स्थापना भएको हो। १९९० को दशकमा बीसीसीआईको एसोसिएट सदस्य बनेको सिकाले २०१८ मा पूर्ण सदस्यता प्राप्त गरेको हो।
सिकाको पक्षबाट सिक्किम राज्यका खेलाडीहरूले राष्ट्रिय स्तरमा विभिन्न ८ प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। राज्यस्तरमा पुरुष वर्गका लागि ए, बी, सी, डी डिभिजन र विनोद प्रधान ट्रफी सिकाले आयोजना गर्दै आएको छ।
यसरी नै महिला वर्गमा क्लब टूर्नामेण्टजस्ता प्रमुख प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् भने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न विद्यालय स्तरमा पनि क्रिकेट प्रतियोगिता खेलाइंदैछ।
अहिले सिक्किम राज्यमा बीसीसीआई मान्यता प्राप्त एउटा राष्ट्रिय स्तरको क्रिकेट मैदान माइनिङमा रहेको छ। यस अतिरिक्त माइनिङमा दुईवटा खेल मैदानको प्रस्तावमा काम भइरहेको छ, जसका लागि जमिन अधिग्रहणको तयारी प्रक्रिया अगाडि बढाइएको छ।
सोरेङ जिल्लाका विभिन्न विद्यालयहरुको उपस्थितिमा आयोजित ३८औं स्थापना दिवसको अवसरमा सिका इलेभेन र डिसी इलेभेन माझ प्रदर्शनी खेल खेलाइएको थियो जसमा डिसी इलेभेन विजयी बनेको छ।





