गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राज्यमा अराजकताको माहोल सिर्जना भएको आरोप लगाउँदै हालै भएका हिंसात्मक घटनाको स्वतः अनुसन्धान गर्न सिक्किम पुलिस जबाफदेहिता आयोगलाई आग्रह गरेको छ। मंगलबार गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा भाजपा प्रवक्ता पासाङ शेर्पाले विपक्षी दलका कार्यकर्ता आनन्द राई र आशिष राईमाथि भएका आक्रमणहरूको कडा विरोध गर्दै सिक्किममा शान्ति सुव्यवस्था कमजोर हुँदै गएको दाबी गरे।
प्रवक्ता शेर्पाले सिक्किम पुलिसले हिंसात्मक घटनामा कुनै प्रभावकारी कारबाही नगरेको भन्दै राज्य सरकारको भूमिकालाई प्रश्न गरे। “आवाजविहीन जनताको पक्षमा बोलिरहेका कार्यकर्तामाथि आक्रमण हुनुले राज्यमा अराजकता छ भन्ने स्पष्ट हुन्छ,” शेर्पाले भने। उनले राज्यका मुख्य सचिव, पुलिस महानिदेशक र अन्य प्रशासनिक अधिकारीहरूलाई शान्ति कायम राख्न तत्काल हस्तक्षेप गर्न आह्वान गरे।
भाजपाले जल जीवन मिशनमा पनि गम्भीर अनियमितता भएको आरोप लगाएको छ। पार्टीका अनुसार केन्द्र सरकारले १०६६ करोड रुपियाँभन्दा बढी बजेट प्रायोजन गरे पनि अधिकांश काम अधुरा छन्। शेर्पाले भने, “भाजपाले यसबारे जल शक्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ र छिट्टै एक विशेष निगरानी टोली सिक्किम आउँदैछ।”
उनले अन्य सामाजिक समस्याहरूको पनि उल्लेख गरे । स्मार्ट मिटर जडानपश्चात् बढेको बिजुली बिल, बृद्ध भत्ता वितरणमा भएको ढिलाइ, व्यापार लाइसेन्स नवीकरण शुल्कमा गरिएको वृद्धिलगायत एमजी नरेगाका तलब नपाएको भन्दै राज्य सरकारले जनतालाई पीडा दिएको आरोप लगाए।
अवैध रूपमा पाकिस्तानी नागरिकहरू बसोबास गरिरहेको हुनसक्ने विषयमा छानविनका लागि केन्द्र सरकारले पठाएको आदेशलाई पनि भाजपाले पत्रकार सम्मेलनमा उठाएको छ। सबै जिल्लाका जिल्लापालहरूलाई आदेश पठाइसकिएको जानकारी दिँदै, भाजपा प्रवक्ताले यससम्बन्धी विवरण सार्वजनिक गर्न माग गरे।
राज्य स्थापनाको स्वर्ण जयन्ती वर्षमा सिक्किममा बढ्दो अराजकता र प्रशासनको निष्क्रियता दुर्भाग्यपूर्ण भएको भन्दै भाजपा सिक्किमले सरकार र सुरक्षाकर्मीहरूलाई कर्तव्यप्रति सजग रहन आग्रह गरेको छ। प्रधानमंत्रीको सम्भावित सिक्किम भ्रमणको सन्दर्भमा स्थिति थप गम्भीर बन्दै गएको भन्दै भाजपा शान्ति कायम राख्न प्रशासनिक सतर्कता आवश्यक भएको बताएको छ।





