गान्तोक: अम्बा सेकेन्डरी स्कूल र लिन्दोक सिनियर सेकेन्डरी स्कूल अन्तर-स्कूल क्रिकेट प्रतियोगितामा विजेता बनेका छन्। सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरेको मर्रे कप (अन्तर-स्कूल अन्डर-१९ महिला) प्रतियोगितामा अम्बा विजयी बनेको छ भने कालुराम थिरानी कप (अन्तर-स्कूल अन्डर-१६ पुरुष) को फाइनल लिन्दोक सिनियर सेकेन्डरी स्कूलले जितेको छ।
दुवै प्रतियोगिताको फाईनल सोमबार माइनिङ क्रिकेट ग्राउण्डमा खेलाइएको थियो। फाइनलमा युवा क्रिकेट प्रतिभाले उत्कृष्ट प्रदर्शन गरे। मर्रे कपमा अम्बा सेकेन्डरी स्कूलकी खेलाडी मिजाङ लेप्चालाई प्लेयर अफ द म्याच र सर्वाधिक स्कोररको उपाधि प्राप्त भयो। यसै टिमकी रेस्मा दंगालले प्लेयर अफ द टूर्नामेन्ट र सर्वाधिक विकेट-टेकर को उपाधि जितेकी छिन्।
कालुराम थिरानी कपमा लिन्दोक सिनियर सेकेन्डरी स्कूलका रोहित गौतमले प्लेयर अफ द म्याच, प्लेयर अफ द टूर्नामेन्ट, र सर्वाधिक विकेट-टेकर को उपाधि जितेका छन्। लिन्दोककै आर्यन थापा सर्वाधिक स्कोरर बने।
कालुराम थिरानी कपको फाइनलमा लिन्दोक स्कूलका खेलाडीहरूले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२८ रनको लक्ष्य दिएको थियो। जवाफमा रिनाकका खेलाडीहरू १६ ओभरमा ८८ रन बनाएर अलआउट भए।
अन्डर-१९ महिला क्रिकेट टूर्नामेन्ट मर्रे क्रिकेट कपको फाइनलमा अम्बा उच्च माध्यमिक स्कूल विजेता बन्यो। खेल देउराली सिनियर सेकेन्डरी स्कूल र अम्बा बीच भएको थियो। देउरालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि अम्बाले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५१ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा देउरालीले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।
सिक्किम क्रिकेट एसोसिएसनका महासचिव रिङजिङ नामग्याल भोटियाले विद्यार्थीहरूलाई क्रिकेटप्रति प्रोत्साहन गर्न यो वर्षदेखि सिक्किम क्रिकेट एसोसिएसनले राज्यस्तरीय इन्टर स्कूल क्रिकेट टूर्नामेन्ट सुरु गरेको बताएका छन्। प्रतियोगितामा राज्यका चार जिल्लाका सरकारी स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए। पहिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको थियो भने जिल्लास्तरका विजेताले राज्यस्तरीय खेलमा अवसर पाएका हुन्।
सिक्किम क्रिकेटलाई उच्चाईमा पुऱ्याउने कालुराम थिरानी कप सिक्किममा १९८७ देखि सुरु भएको थियो। बिचमा बन्द रहेको यो प्रतियोगितालाई जीवन्त राख्न सिक्किम क्रिकेट एसोसिएसनले यस वर्षदेखि निरन्तरता दिने निर्णय गरेको एसोसिएसनका अध्यक्ष टिका सुब्बाले जानकारी दिएका छन्। यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने अध्यक्ष सुब्बाले जानकारी दिएका छन्।
आज फाइनल खेलिएका दुवै प्रतियोगिताका विजेता टिमलाई २५ हजार रुपियाँ र उपविजेतालाई १५ हजार रुपियाँ नगद पुरस्कारसहित आकर्षक ट्रफी र मेडल प्रदान गरियो।





