गान्तोक: स्वदेशी सम्पदाको संरक्षणका लागि एउटा अभूतपूर्व प्रयासका क्रममा युनेस्कोले सिक्किम सरकारसँग मिलेर लेप्चा परम्परागत बेतको पुललाई डिजिटल अभिलेखीकरण गर्ने भएको छ। सिक्किमको कञ्चनजङ्घा जैवमण्डल (बायोस्फियर) रिजर्भभित्र रहेको जङ्गुको जनजाति रिजर्भमा प्रचलित रहेको लेप्चा परम्परागत बेतको पुललाई रु-सोम एक उल्लेखनीय स्वदेशी इन्जिनियरिङको दस्तावेजीकरण र प्रवर्द्धन गर्न सहकार्य गरेको छ।
हालै टाशीलिङ सचिवालयमा विज्ञान तथा प्रविधि विभागको बौद्धिक सम्पदा अधिकार शाखाले आयोजना गरेको उच्चस्तरीय बैठकपछि यो पहलको घोषणा गरिएको छ।
मन्त्री पिञ्चो नामग्याल लेप्चाको अध्यक्षतामा भएको बैठकमा विशेषज्ञहरू, कारीगरहरू र सांस्कृतिक विज्ञहरूले रु-सोमको महत्त्वबारे छलफल गरेका थिए। यो पुल जङ्गली बेत र बाँसबाट बनाउने गरिएको छ र यसले पर्यावरण-संवेदनशील नवप्रवर्तन साथै दिगो पूर्वाधारलाई प्रतिनिधित्व गर्छ।
यस्तो लेप्चा समुदायको परम्परागत बुद्धिमत्ता र प्रकृतिसँगको समन्वयको प्रमाण रहेको भन्दै मन्त्री पिञ्चो नामग्याल लेप्चाले “यसको संरक्षण सांस्कृतिक पहिचान र जलवायु लचिलोपनका लागि महत्त्वपूर्ण रहेको।” बताएका छन्
युनेस्कोका क्षेत्रीय निर्देशक टिम कर्टिसले भर्चुअल रूपमा सम्बोधन गर्दै यो पहलको प्रशंसा गरे र दस्तावेजीकरण र विश्वव्यापी सम्पदा मान्यताका लागि प्राविधिक सहयोग दिने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा जङ्गुका कारीगरहरू र नामग्याल टिबेटोलोजी संस्थानका विद्वानहरूले आफ्ना अनुभव र अन्तर्दृष्टि साझा गरेका थिए। छलफलमा पुलको मौखिक परम्परा र पर्यावरणीय दिगोपनमा यसको भूमिकालाई उजागर गरिएको थियो। युनेस्कोका प्राकृतिक विज्ञान प्रमुख डा. बेन्नो बोएरले मे २०२५ मा सिक्किम भ्रमण गरी यो सहकार्यलाई अगाडि बढाउने कार्यक्रम रहेको बताइएको छ। यो परियोजनाले रु-सोमलाई डिजिटल रूपमा अभिलेखीकरण गर्ने लक्ष्य राखेको छ र यो सफल भए सिक्किमको अमूर्त सांस्कृतिक सम्पदाको प्रतीकको रूपमा भावी पुस्ताहरूका लागि यसको विरासत सुनिश्चित हुनेछ।





