गान्तोक: पश्चिम सिक्किमको गेजिङ जिल्लामा एउटी १३ वर्षीया नाबालिकासँग लामो समयदेखि धेरै व्यक्तिहरूद्वारा यौन दुर्व्यवहार भएको घटना अघि आएको छ। नाबालिका गेजिङ जिल्लाको एउटा सरकारी विद्यालयकी विद्यार्थी हुन्।
पुलिसले दिएको जानकारीअनुसार रूपमा २०२४ अनि २०२५ मा नाबालिका धेरै व्यक्तिहरूबाट यौन दुर्व्यवहारको शिकार भएको आरोप छ। पुलिसको सोधखोज र परामर्शको क्रममा नाबालिकाले बताएअनुसार गेजिङ जिल्लाकी एक महिलाले घरको काममा सहयोग गर्ने बहानामा उनलाई आरोपी महिलाको घर लगेकी थिइन्, जहाँ महिलाले कथित रूपमा पैसाको साटो उनको पति र अन्य दुइ पुरुषहरूसँग बारम्बार यौन दुर्व्यवहार गर्न बाध्य पारेको आरोप लगाएकी छन्। यति मात्र नभएर सो अवधिमा अन्य चारजना किशोरहरूले पनि यौन दुर्व्यवहार गरेको नाबालिकाले बताएकी छन्।
नाबालिकाको बयानपछि पुलिसले तत्काल आरोपी महिला, उनको पति र घटनामा संलग्न दुई पुरुषहरूलाई पक्राउ गरेको छ। यसबाहेक अन्य चारजना किशोरहरूलाई पनि पुलिसले पक्राउ गर्दै उनीहरूका अभिभावकलाई यसबारे सूचित गरेको बताइएको छ।
जाँचको क्रममा नाबालिकाको गेजिङ जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। आरोपीहरू विरुद्ध भारतीय न्याय संहिता (बीएनएस), २०२३ र यौन अपराधबाट बालक-बालिकाको संरक्षण (पोस्को) ऐन, २०१२ -को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ भने पुलिसले घटनाको जाँच जारी राखेको बताइएको छ।





