गान्तोकः सिक्किमको फुटबल खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सिक्किम प्रिमियर लिग आजदेखि शुरु भएको छ। नाम्चीको भाइचुङ स्टेडियमा मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम प्रिमियर लिगको सिजन तीन शुरु भएको घोषणा गरेसँगै यो लिग शुरु भएको हो। सिक्किम सरकारको संरक्षण र सिक्किम फुटबल एसोसिएशनको तक्निकी सहयोगमा फुटबल डेभलोप्मेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्दै आएको सिक्किम प्रिमियर लिग भइचुङ स्टेडियम र गान्तोकको पाल्जर स्टेडियममा खेलाइनेछ।
लिगको तेस्रो सिजनको आज उद्घाटन समारोहमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहेका थिए। आज उद्घाटन खेल हुनअघि मुख्यमन्त्रीले भाइचुङ स्टेडियममा सिग्गिम प्रिमियर लिगको झण्डा फहराउन साथै लिग शुरु भएको घोषणा गरेपछि आयोजक फुटबल डेभलोमेन्ट प्राइभेट लिमिडेटले मुख्यमन्त्री, सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत साथै लिग प्रायोजकहरूलाई सम्मान जनायो। यस अवसरमा विभिन्न साँस्कृतिक टोलीले कार्यक्रम पनि प्रस्तुत गरेका थिए।
लिगको उद्घाटन समारोहलाई सम्बोधन नगरेपनि मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी बन्न पाएकोमा आफ्नो खुशी व्यक्त गर्दै यो क्षणलाई ऐतिहासिक बताएका छन्। उनले आफ्नो सोशल मिडिया पोस्टमा भनेका छन्, “यो केवल एउटा प्रतियोगिताको शुरुवात मात्र होइन, फुटबलको उत्सव हो र सिक्किमको संस्कृतिको अभिन्न अंग हो।”
मुख्यमन्त्रीले “सिक्किममा फुटबल खेल मात्र नभएर यो जीवनको एउटा महत्त्वपूर्ण हिस्सा हो” भनेका छन्। फुटबलले राज्यमा एकताको भावना जगाउने र जनताबीच आफ्नोपनको भावना सिर्जना गर्ने कुरामा जोड दिंदै यस वर्षको सिक्किम प्रिमियर लिगले उत्साहलाई अझ उचाइमा पुर्याउनेछ भन्ने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले सिक्किमका मानिसहरूलाई सिक्किम प्रिमियर लिगको समर्थन गर्न आह्वान गर्दै सबैले एकजुट भएर खेलको उत्सव मनाउन र स्थानीय फुटपल प्रतिभाहरूलाई हौसला प्रदान गरेर राज्यमा फुटबलको नयाँ युगको शुरुवात गर्न अनुरोध गरेका छन्। उनले भनेका छन्, “स्थानीय प्रतिभा र एकताको भावनालाई केन्द्रमा राख्दै आयोजना भएको सिक्किम प्रिमियर लिग २०२५ सिक्किमको खेलकुद इतिहासमा एउटा निर्णायक अध्याय बन्ने तयारीमा छ।”
आज लिगको उद्घाटन खेल गत वर्षको लिग च्याम्पियन सिङ्लिङ स्पोर्टिङ क्लब र थन्डरबोल्ट नर्थ यनाइटेड माझ खेलिएको थियो जो एक-एक गोलको बराबरीमा समाप्त भयो। यो लिगमा ब्ल्याक इगल एफसी नयाँ टिम जोडिएपछि लिग खेल्ने कुल टिम सङ्ख्या ९ पुगेको छ। लिग चरणका १८ खेल नाम्चीको भाइचुङ स्टेडियमा खेलाइनेछ भने रहल लिग खेल र दुईवटा प्लेअफ अनि फाइनल खेल गान्तोकको पाल्जर स्डेडियममा हुनेछन्।





