गान्तोक: सिक्किमबाट दशजना प्रतिभाशाली छात्राहरूले ग्वालियरको प्रतिष्ठित सिंधिया कन्या विद्यालयमा भर्ना पाएको जानकारी मुख्यमन्त्री पीएस गोलेले साझा गरेका छन्। यी छात्राहरूले मुख्यमन्त्री मेधावी छात्रवृत्ति (सीएमएमएस) योजनाअन्तर्गत योग्यता हासिल गरेका हुन।
दशजना छात्राहरूको सफलतामा आफ्नो खुशी व्यक्त गर्दै मुख्यमन्त्री गोलेले छात्राहरूलाई बधाई दिएका छन्।
बुधबार छात्राहरूसंग भेट गरेका मुख्यमन्त्रीले आफ्नो फेसबुक पेज खुशी व्यक्त गर्दै भनेका छन्, “यी प्रतिभाशाली छात्राहरूले आफ्नो परिवार, समुदाय र सम्पूर्ण राज्यको आशा र सपनाहरू बोकेर यो नयाँ शैक्षिक यात्रामा अगाडि बढ्दैछन्। मलाई पूर्ण विश्वास छ उनीहरूले आफ्नो पढाइमा उत्कृष्टता हासिल गर्नेछन् र आफ्ना अभिभावक तथा सिक्किमलाई गर्व गर्ने अवसर दिनेछन्।”
मुख्यमन्त्रीले छात्राहरूको उपलब्धिको महत्त्वलाई जोड दिँदै भनेका छन् “यो उनीहरूको मात्र सफलता होइन; यो अवसर र योग्यताको संयोजनले सम्भव हुनसकेको प्रतिबिम्ब हो।”
उनीहरू ग्वालियर प्रस्थान गर्न अघि मुख्यमन्त्रीले भेट गरेर आफ्नो हार्दिक शुभकामना व्यक्त गरेका छन् साथै उनीहरूको आगामी यात्रा “ज्ञान, वृद्धि र अनेक सम्भावनाहरूले” भरिपूर्ण हुनेछन् भन्ने विश्वास राखेका छन।





