गान्तोक: अखिल किराँत राई संघ सिक्किम केन्द्रिय कार्यकारी समितिको आयोजनामा आसामलिङ्गजेस्थित सिकोन प्रेक्षागृहमा राई भाषा शिक्षक-शिक्षिकाहरूका लागि पाँच दिवसीय अभिमुखी कार्यक्रम र कार्यशाला आयोजना भइरहेको छ। गत ६ अप्रेलदेखि शुरु भएको कार्यशालाको उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा उपस्थित सिक्किम सरकारकी ग्रामीण विकास विभाग सल्लाहकार तथा विधायक कला राईले भाषाको संरक्षण र विकासमा शिक्षक-शिक्षिकाहरूको विशेष भूमिका रहेको बताइन्। उनले राई भाषाविद् र शिक्षकहरूलाई महान् ठहराउँदै सरकारले प्रसूति विदाको समयमा भाषा शिक्षाबाट विद्यार्थी वञ्चित हुने समस्याको समाधानका लागि नीति बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सिक्किम खाद्य आयोगका अध्यक्ष डा. शिवकुमार राई, सांस्कृतिक विभागका ओएसडी मणीदास राईलगायत उपस्थित थिए। अखिल किराँत राई संघ सिक्किमको केन्द्रिय समितीका मुल सचिव आरके वालिङले राई भाषा विकासका लागि संस्थाले गरेका पहल र सरकारको सहयोगबारे जानकारी गराए। हाल सिक्किममा १४५ राई भाषा शिक्षक रहेको र यस कार्यशालामा ८१ जनाले सहभागिता जनाएको शिक्षा विभागका एटीबीओ अरूण कुमार राईले बताए।





