नयाँ दिल्ली: सिक्किमबाट लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बिहीबार संसद भवनस्थित कार्यालयमा केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी राज्यको सडक जडानसँग सम्बन्धित महत्त्वपूर्ण पूर्वाधार समस्याहरूमा छलफल गरेका छन्।
यस भेटका क्रममा सुब्बाले राष्ट्रिय राजमार्ग १० (NH-10) को मर्मत जिम्मेवारी राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (NHIDCL) मा स्थानान्तरण गर्ने केन्द्रिय मन्त्रीको तीव्र निर्णयप्रति आभार व्यक्त गरे। उनले उक्त निर्णयले सिक्किमका लागि जीवनरेखा सरह रहेको यस महत्त्वपूर्ण राजमार्गको राम्रो मर्मत सम्भव हुने बताए।
यसै भेटमै सांसद सुब्बाले मल्ली–सिङताम र सिङताम–सेवोक खण्डको वैकल्पिक राष्ट्रिय राजमार्गको अनुमोदन प्रक्रिया चाँडो गर्न मन्त्रालयलाई आग्रह गरेका छन्। प्रस्तावित ग्रीनफिल्ड, सबै मौसममा प्रयोग गर्न सकिने राजमार्ग हालको NH-10 को विपरित भागमा निर्माण गरिनेछ जसले समग्र जडान सुधार गर्ने र भरपर्दो यातायात मार्ग सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
सांसद सुब्बाले सोरेङ र गेजिङ जिल्लामा नयाँ राष्ट्रिय राजमार्गहरू विकास गर्न लिखित प्रस्ताव पनि पेस गरेका छन् जहाँ हाल न्यून राजमार्ग पहुँच रहेको छ। गेजिङ जिल्लामा हाल झण्डै ३० किलोमिटर मात्र NH-510 मार्ग विस्तार भएको छ जसबाट पूर्वाधार विस्तारको आवश्यकता देखिन्छ।
सांसद सुब्बाले चाँडै अनुमोदनक लागि सिफारिस गरेका विशेष मार्गहरूमा मानपुर–जोरथाङ–लेगशेप (NH-710 र NH-510 जोड्ने) मार्ग, नयाँबजार–दरामदिन–सोमबारे–सोरेङ–कालुक–देन्ताम–चिवाभञ्ज्याङ सडक, र गेजिङ–पेलिङ–योकसम–टाशीडिङ हुँदै योकसमसम्मको मार्गहरू रहेका छन्।
लोकसभा सांसद इन्द्रहाङ सुब्बाले विशेषगरी दुर्गम क्षेत्रहरूमा सडक पूर्वाधार सुदृढ गर्न जरुरी रहेको भन्दै सिक्किमको विकासका लागि बलियो यातायात पहुँच अपरिहार्य भएको बताए। उनले मन्त्री गडकरीको सक्षम नेतृत्वमा मन्त्रालयले यी प्रस्तावहरूमा आवश्यक ध्यान दिने र राज्यभर यातायात पहुँच सुदृढ गर्न आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।





