गान्तोक: फ्युचर जेनेरली इन्डिया इन्स्योरेन्स (FGII), कम्पनीले २०२७ भित्र राज्यमा १०० प्रतिशत बीमा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ। सिक्किमका लागि लिड इन्स्योररको रूपमा कार्यरत यस कम्पनीले निर्धारित लक्ष्य प्राप्ति गरेको खण्डमा
राष्ट्रिय लक्ष्यभन्दा २० वर्ष अगाडि हुनेछ।
कम्पनीले १४९ रुपियाँमा विशेष बीमा योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत रु ४ लाखसम्मको कभरेज प्राप्त हुन्छ। यसमा व्यक्तिगत दुर्घटना, अपाङ्गता, कमाउने सदस्यको मृत्युपछि नानीहरूको शिक्षाका लागि सहायता साथै घर तथा चोरी बीमा समावेश छन्। कम्पनीले ग्राम पञ्चायतहरूसँग मिलेर सिक्किममा जनचेतना फैलाउने कार्य गरिरहेको छ भने अहिलेसम्म नाम्ची, पाकिम र गान्तोक जिल्लामा अभियान सञ्चालन गरिसकेको छ।
पक्का घरहरूको लागि घर बीमा प्रवर्द्धन गर्न FGII अहिले शहरी विकास प्राधिकरणसँग समन्वयमा छ। आर्थिक वर्ष २०२४–२५ मा कम्पनीले करिब २१,००० बीमा पोलिसी बिक्री गरिसकेको छ।
FGII का सीईओ अनुप राउले सिक्किमको उच्च साक्षरता दर र स्थानीय सहयोगका कारण लक्ष्य प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे। कम्पनीले आफ्नो एजेन्सी नेटवर्क विस्तार गरिरहेको छ भने बिमा वाहक (Bima Vahak) मोडल लागू भएपछि वितरण प्रक्रिया अझ प्रभावकारी हुने बताएको छ।





