गान्तोक: बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) ले 20 फरवरीका दिन भत्किएको फीक्योङ पुल पुनर्निर्माण गरेको छ। बीआरओले फीक्योङमा 60 फिट लामो बेली पुल निर्माण गरेर उत्तर सिक्किमसँगको सम्पर्क पुनः स्थापित गरेको छ। 20 फरवरीमा फीक्योङ पुल भत्किएपछि उत्तर सिक्किम जाने मुख्य मार्ग अवरुद्ध भएको थियो।
1966 मा सिक्किम सरकारको जनकार्य विभाग (पीडब्लुडी) द्वारा डिक्चु-साङ्कालाङ-शिपग्येर सडकमा निर्माण गरिएको उक्त पुरानो पुल धेरै पुरानो र अधिक भार भएका सवारीसाधनको आवागमनका कारण भत्किएको थियो।
यो पुल भत्किएर स्थिति गम्भीर बनेपछि बीआरओ अन्तर्गत प्रोजेक्ट स्वस्तिक अधिकारी तथा श्रमिकहरूले अन्य स्थानहरूबाट आवश्यक निर्माण सामग्री तथा भारी उपकरणहरू चाँडो उपलब्ध गराएर पुल जडान गरेका हुन्।
अत्यधिक वर्षा र कठ्याङ्ग्रिँदो जाडोको मौसममा पनि प्रोजेक्ट स्वस्तिकका कर्मीहरूले दिनरात मेहनत गरी छोटो समयमा नै पुल निर्माण सम्पन्न गरेका छन्।





