गान्तोक: सिक्किमका वरिष्ठ नागरिक तथा कृषि क्षेत्रमा पद्मश्री पुरस्कार प्राप्त गरेका तुलाराम उप्रेतीको 100 वर्षको उमेरमा निधन भएको छ। पूर्व सिक्किमको आसामलिङ्जे निवासी तुलाराम उप्रेतीको हिजो शनिवार निजी निवासमा निधन भयो।
2023 मा पद्मश्री पुरस्कार प्राप्त गरेका उप्रेतीको निधनमा सिक्किमेली समाजले गहिरो शोक व्यक्त गरेको छ। उनको आज अन्तिम संस्कार राजकिय सम्मानकासाथ रानिपूलमा हुनेछ।
तुलाराम उप्रेती सिक्किममा नरबहादुर भण्डारी सरकारकाल मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ केएन उप्रेतीका पिता हुन्। उप्रेतीको निधनमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले गहिरो शोक व्यक्त गरेका छन्। आज आइतबार बिहान मुख्यमन्त्री गोलेले आसामलिङ्जे पुगेर स्वर्गीय तुलाराम उप्रेतीलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्री गोलेले पद्मश्री तुलाराम उप्रेतीको निधनमा गहिरो दुःख व्यक्त गर्दै कृषि र जैविक खेतीका अगुवा उप्रेतीले सिक्किमको दिगो विकास यात्रामा महत्वपूर्ण योगदान रहेको बताएका छन्।
आफ्नो शोक सन्देशमा मुख्यमन्त्रीले भनेका छन् “पूर्व मन्त्री केएन उप्रेतीका पिता तुलाराम उप्रेतीले परम्परागत खेतीप्रति समर्पित भएर राष्ट्रिय पहिचान बनाएका थिए।”
मुख्यमन्त्रीले स्वर्गीय उप्रेतीका परिवारजन, आफन्त, मित्र तथा शुभचिन्तकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।





