पाकिम: रिनाक निर्वाचन क्षेत्रको विधायक चुनिए पछि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज आइतबार देखि तीन दिनको रिनाक भ्रमण शुरु गरे। यस तीन दिनको भ्रमण अवधिमा उनले निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरूका समस्याको सुनवाई गर्न संगै समाधानका पहल गर्नेछन्।
2024 को विधानसभा चुनाउमा एसकेएम पार्टीले विजय बनेर दोस्रो पल्ट सरकार गठनपछि मुख्यमन्त्री पीएस गोलेले रिनाक निर्वाचन क्षेत्रबाट जनभेट कार्यक्रम शुरु गरेका हुन्। उनले आज रिनाक निर्वाचन क्षेत्रको बुदाङ कमेरे र भस्मे पदम्चे
दुईवटा निर्वाचन क्षेत्रका जनतासँग पदम्चे माध्यमिक विद्यालयमा भेटघाट शुरु गरेका छन्। मुख्यमन्त्री आगामी तीनदिनसम्म विभिन्न स्थानमा पुगेर जनता भेटघाट गर्नेछन्। मुख्यमन्त्रीको जनभेट कार्यक्रमलाई सहज र व्यवस्थित बनाउनका लागि प्रशासन र पार्टीले आवश्यक सुविधा मिलाएको छ।
तीनदिनसम्म मुख्यमन्त्रीले सिक्किम सरकारको विभिन्न जनसरोकारका विभागका अधिकारीहरुका साथमा जनताका समस्या सुन्वाइ गर्नेछन् अनि तत्काल समाधान गर्नसक्ने विषय र समाधान खोज्नुपर्ने विषयलाई छुट्याएर समाधानको पहल गर्नेछन्।
जानकारी गराइन्छ मुख्यमन्त्रीले आफ्नो पहिलो कार्यकालमा पनि सिक्किमका लगभग सबै निर्वाचन क्षेत्रमा जनभेट कार्यक्रम गरेका थिए। जनताले यस अवसरमा राखेका मागका आधारमा सरकारले लगभग 28 हजारलाई सरकारी सेवामा नोकरी दिएको थियो भने प्रत्येक निर्वाचन क्षेत्रका लगभग पांच हजारभन्दा बढी जनताले विभिन्न सहुलियत र सरकारी सुविधा प्राप्त गरेका थिए।
आज पदम्चे माध्यमिक विद्यालयमा लगभग 2 हजार जनतालाई मुख्यमन्त्रीले भेट्ने सम्भावना रहेको छ। भोलि रिनाक फरेस्ट बङ्लोमा अनि 25 फरवरीमा आम्बामा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय छ।





