मगन: उत्तर सिक्किमको जङ्गुमा फिदाङ गाउँ नजिक रहेको फीक्योङको पुल क्षतिग्रस्त भएको छ। पुल असुरक्षित बनेपछि क्षेत्रको यातायातमा अवरोध उत्पन्न भएको छ। यो पुल क्षेत्रकै पुरानोमध्ये एउटा पुल हो जो भाँचिएको र पुलमा गहिरो चिरा परेको बताइएको छ। सवारी साधनका लागि फीक्योङको पुल असुरक्षित बनेको छ जसका कारण जङ्गु सहज यातायात मार्गबाट टाढिएको छ।
यो पुल जङ्गुका लागि महत्वपूर्ण सम्पर्क माध्यम थियो। विशेष गरी साङ्कालाङको पुल क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दा र यात्रुहरूका लागि जीवनरेखा बनेको थियो।
फीक्योङ पुल असुरक्षित बनेपछि ट्राभल एजेन्ट एसोसिएशन अफ सिक्किमका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पाले सबै टुर अपरेटर र यातायात व्यवसायीहरूलाई टुङ-नागा सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न आग्रह गरेका छन्। तर टुङ-नागा मार्ग निरन्तर परेको भारी वर्षाका कारण हिलाम्मे र चिप्लो भएकाले सावधानीपूर्वक यात्रा गर्न सुझाव दिएका छन्।
जङ्गुका मानिसहरूलाई दोस्रो विकल्पका रूपमा, साङ्कालाङको बाँसको पुलमार्फत सामान ओसारपसारको व्यवस्था गरिएको छ, जसले आवश्यक सामग्री र यात्रुहरूको आवतजावत सुनिश्चित गर्नेछ। यात्रुहरूलाई आफ्नो यात्रा योजनाबद्ध गर्न र जोखिमयुक्त मार्गहरूमा सावधानी अपनाउन सल्लाह दिइएको छ।
फीक्योङ पुल भत्किए पनि जङ्गुको यात्राका अत्तालिनु पर्ने अवस्था नरहेको लुम गोर सान्तोकका पञ्चायतले जानकारी दिएका छन्। स्थानीय पञ्चायतबाट प्राप्त जानकारीअनुसार वैकल्पिक मार्गका रुपमा सान्तोक-सेग्युङ सडक प्रयोग गर्न सकिन्छ। तर सडक केही अफ्ठेरो रहेकाले ठूला वाहनलाई मात्रै यो वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
प्रशासनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र स्थानीय बासिन्दा तथा यात्रुहरूलाई थप सूचनाका लागि सतर्क रहन अनुरोध गरेको छ। क्षेत्रमै खराब मौसम रहेकाले सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ।
फीक्योङ पुल असुरक्षित बनेपछि यस मार्गमा रोकिएका वाहनलाई अन्य मार्गबाट घुमाएर गन्तब्य पुऱ्याउने प्रयास भइरहेको पञ्चायत सदस्य सोनाम लेप्चाले जानकारी दिएका छन्। एसडीएमको उपस्थितिमा स्थानीय पञ्चायत र प्रशासन मिलेर रोकिएका सबै वाहनलाई सान्तोक-सेग्युङ सडक मार्गबाट घुमाएर पठाउने काम शुरु भएको उनले जानकारी दिएका छन्।





