गान्तोक: स्टेट ब्याङ्क अफ सिक्किमबाट लिएको ऋण निर्धारित समयमा फिर्ता नगरेपछि गान्तोक जिल्ला अन्तर्गत तीनवटा प्रोपर्टीलाई ब्याङ्कले आफ्नो अधीनमा लिएको छ। प्रमाण-पत्र अधिकारी, गान्तोकद्वारा जारी आदेश अनुसार ब्याङ्कले आज यी सम्पत्ति आफ्नो अधीनमा लिएको हो।
पहिलो मामिला पाल्देन भोटियाको रहेको छ। उनले 2017 -मा स्टेट ब्याङ्क अफ सिक्किमबाट 2 करोड रुपियाँ ऋण लिएका थिए। तर सो रकम फिर्ता नगरेपछि 2023 -मा मुद्दा दर्ता गरिएको थियो भने 2024-को 30 जनवरीमा प्रमाण-पत्र जारी भएको थियो। प्रमाण-पत्र अनुसार 28 फरवरी, 2023 सम्मको ब्याज जोड्दा कुल बकाया राशि 2.96 करोड रुपियाँ पुगेको बताइएको छ। ब्याङ्कले उनको साङ्तोक ब्लक, राङ्का, गान्तोक जिल्लास्थित जमिन तथा भवन आफ्नो अधीनमा लिएको छ। अब यो सम्पत्ति कसैले किनबेच गर्न पाउने छैन भने मालिकलाई आगामी 4 मार्च 2025 -भित्र खाली गर्न आदेश दिएको छ।
यसरी नै, दोस्रो मामिला गोम्पु शेर्पाको रहेको छ। उनले 2017-मा 6 करोड रुपियाँ ऋण लिएको बताइएको छ। उनले पनि रकम फिर्ता नगरेपछि 2019 -मा मुद्दा दर्ता गरिएको थियो भने 2024-मा जारी प्रमाण-पत्र अनुसार ब्याजसहितको कुल बकाया राशि 15.87 करोड रुपियाँ पुगेको बताइएको छ। ब्याङ्कले उनको गान्तोकस्थित मेट्रो बिल्डिङमा रहेको ल्हासा होटल आफ्नो अधीनमा लिएको छ। अब यो सम्पत्ति कसैले किनबेच गर्न पाउने छैन भने मालिकलाई आगामी 1 मार्च 2025 भित्र खाली गर्न आदेश दिइएको छ।
यसैगरी, तेस्रो मामिला सुशिला चामलिङको रहेको छ। उनले 2018 -मा किरण छेत्रीको नाममा रहेको जमिनसँगैको घरलाई धितो राखेर 1.2 करोड रुपियाँ ऋण लिएकी थिइन्। रकम निर्धारित समयमा फिर्ता नगर्दा 2023 -मा मुद्दा दायर भएको थियो भने 2024 -मा प्रमाण-पत्र जारी गरिएको थियो। 1 दिसम्बर , 2022 सम्मको ब्याजसहित उनको कुल बकाया राशि 2.03 करोड रुपियाँ पुगेको बताइएको छ। ब्याङ्कले उनको तादोङ गान्तोकस्थित जमिन तथा भवन जफ्त गरेको छ भने सम्पत्ति कसैले किनबेच गर्न नपाउने पनि बताइएको छ।





