नामथाङ: पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री टीटी भोटियाले नामथाङ रातेपानी क्षेत्रका पर्यटन आयोजनाहरू निर्धारित समयभित्रै सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। मन्त्री भोटियाले बुधवार क्षेत्रका विधायक सञ्जित खरेल, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज गुरूङ, पर्यटन विभागका सचिव प्रकाश छेत्री, विभागीय अधिकारीहरू, ठेकेदारहरू र स्थानीय मानिसहरूसँग नामथाङ रातेपानीमा निर्माणाधीन अष्टचिरञ्जीवी धामको भ्रमण गरे।
मन्त्रीले उक्त आयोजनाको निर्माण कार्यलाई चाँडै पूरा गर्नआवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए। उक्त आयोजनाले क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री पीएस गोलेको नेतृत्वको प्रशंसा गरेका छन् साथै मुख्यमन्त्रीकै अगुवाइमा यो आयोजना चाँडै सम्पन्न भई उद्घाटन हुने बताएका छन्।
मन्त्री भोटियाले नामथाङ रातेपानीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै भौतिक संरचना सुधारका लागि निरन्तर सहयोग गर्ने आश्वासन दिए।





